सहकारीमार्फत बैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्था उद्यमशिल तथा व्यवसायिक हुँदै जानुपर्ने बताउनुभएकोछ । विहिबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभामा उहाँले भन्नुभयो “सहकारीलाई रोजगारीको थलो बनाउनुपर्छ, वैदेशिक रोजगारीलाई विस्थापित गर्ने गरी सहकारी अभियानमा लाग्नुपर्छ, त्यसका निम्ति उद्यशिलता र व्यवसायिकता नै हुनुपर्दछ ।”
  
उहाँले राज्यद्वारा सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उहाँले एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागु गरेर जानुपर्ने बताउनुभयो । सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्यशिलतामा जान संभव हुने उहाँको दावी छ । सहकारीबाट रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने संख्यालाई स्वदेशमै रोक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।  
राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको चर्चा गर्दै १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्न सहकारीलाई भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो । सहकारीले उद्मशिलताका क्षेत्रमा काम गर्नेक्रममा आइपर्ने विभिन्न कानुनी बाधाहरूलाई मन्त्रालयले सहजिकरण गर्दै आएको समेत मन्त्री अर्यालले बताउनुभयो ।  बचत तथा ऋण सहकारी संस्थाको संख्या बढी भएको हुँदा प्रगतीमा बाधक हुने भएकोले सहकारीको संख्या कम गर्ने अभियानमा जानुपरेको उहाँको भनाई छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारीलाई आकर्षणको क्षेत्र बनाउनुपर्ने बताउनुभयो । राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारी महत्वपूर्ण क्षेत्र भएको भन्दै सचिव गौतमले गरिबीमुखी कार्यक्रम, योजना बनाएर अगाडि बढ्न जरुरी रहेको चर्चा गर्नुभयो ।

SHARE THIS