साना उद्योगका निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

अनिता पौडेल


काठमाडौं । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा बौद्घिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भन्नुभयो – ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकहरुमा समेत उत्पादन हुने गर्दछन् । यसरी उत्पादित वस्तुहरु मुल रुपमा नेपालबाट उत्पादन सुरु भएपनि अन्य मुलुकहरुले यस्ता वस्तुहरुको प्रतिलिपी उतारगरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरु समेतमा नेपालको हक कायम नभइदिंदा भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनहरुलेउल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’
नेपालमै उद्गम भएका कतिपय निर्यातयोग्य वस्तुहरुमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य भएकोमा जोडदिंदै उहाँले भन्नुभयो – ‘हालसम्म पेटेन्ट अधिकारको बारेमा नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई वौद्घिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत छैन, उनीहरुलाई ट्रेडमार्क र ब्राण्ड सम्बन्धी चेतना जगाउनुपर्छ ।’
उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौदिक सम्पत्ति भनेको अत्यन्तै महत्वपूर्ण कुरा भएकोमा जोड दिंदै भन्नुभयो – ‘उद्योगको कुरा गर्दा कुल जीडीपीको छ प्रतिशत उद्योगको योगदान छ त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ । साना व्यवसायीले उत्पादन गर्छन, दुःख गर्छन, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरुकै ट्रेडमार्क सुरक्षित हुँदैन ।’
ट्रेडमार्क भनेको उद्योगी व्यवसायीको आफनो सम्पत्ति भएको भन्दै यसको बेलैमा संरक्षण गर्न जरुरी भएको बताउँदै उहाँले भन्नुभयो – ‘औद्योगिक सामानहरु उत्पादन हुन्छन् तर तिनको पेटेन्ट दर्ता अत्यन्तै कम हुनुको पछाडि सचेतनाको अभाव र समयको अभावले हुन सक्छ । तर यो विषयमा व्यवसायी बेलैमा सचेत हुन जरुरी छ ।’
कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंक बहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा वौद्घिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा वौद्घिक सम्पत्तिका अन्तराष्ट्रिय अभ्यास सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र वौद्घिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुति गर्नुभएको थियो ।
एकदिने कार्यशाला गोष्ठीमा लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनमा लागेका करिब एक सयजना व्यवसायीहरुको सहभागिता रहेकको कार्यक्रमका सहजकर्ता रुपक सापकोटाले जानकारी दिनुभयो ।

SHARE THIS