उद्योगपति डा. रुप ज्योतीलाई हिरासतमा राखिनु गलत भएको महासंघको ठहर

काठमाडौं । प्रतिष्ठित उद्योगपति डा. रुप ज्योतीलाई ठगि प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा पूर्पक्षमा थुनामा राखी कारबाही अगाडी बढाउन दिएको निर्देशनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विना सूचना पक्राउ गरि हिरासतमा लिएको घटनामा गलत भएको महासंघको ठहर छ । दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताउनुभयो ।
उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पु¥याई कैंयौलाई रोजगारी दिदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडी बढाउन लगाउनु उचित नभएको तर्फ महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्नसक्ने नकारात्मक असरलाई न्यून गर्न डा. ज्योतीलाई सम्मानपूर्वक व्यवहार गरी रिहा गर्न आग्रह महासंघले गरेको छ ।

SHARE THIS