नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार राजधानीमा बसेको ६० औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत र १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।
साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख१४ हजार ८०० रुपियाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने एक अर्ब ४७ करोड १६ लाख  ७२ हजार २०० रुपियाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकको अधिकृत पूँजी १० अर्बबाट बृद्धि भई १५ अर्ब रुपियाँ कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपियाँ कायम गर्ने लगायतका प्रस्तावहरु साधारणसभामा पेश भएर सर्वसम्मत रुपमा पारित गरेको छ ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५÷७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५÷७६ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल भई पारित भएको बैंकले जनाएको छ ।


SHARE THIS