आधा दर्जन भन्दाबढी नियमावली र कार्यविधिहरू संशोधनको प्रकृयामा : अर्थमन्त्री

काठमाडौं । सूचीकृत धितोपत्रहरुको कारोबार गर्ने गराउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ ।
नेप्सेको मङ्गलबार राजधानीमा आयोजित २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको गतिको मापकको रुपमा रहेको सेयर बजारमा पछिल्लो समय संरचनात्मक परिवर्तन भएको बताउनुभयो ।
पहिला महिनौंसम्म सेयर बाँडफाँड नहुने अवस्था, सेयरको भरेको कागज घरमा मुसाले काट्ने अवस्था, लगानीकर्तालाई कुन सेयर किन्ने भन्ने अन्यौलताबाट अहिले सेयर भर्न लाइन बस्नु नपर्ने, बाँडफाँड समेत छिटो हुने गरेको भन्दै अर्थमन्त्री खतिवडाले दोहोरो करको विषय आगामी बजेटदेखि सम्बोधन हुने बताउनुभयो ।
२७ वर्ष प्रवेश गरेको नेप्से युवा नै भएको भन्दै यसको विकल्प अहिले नखोजिने भन्दै उहाँले बताउनुभयो । राष्ट्र बैंकले आफ्नो सेयर स्वामित्व घटाएर १० प्रतिशतमा झार्ने समेत उहाँले बताउनुभयो ।
लगानीकर्तालाई कारोबार गर्दा होस नगुमाउन आग्रह गर्दै लगानीकर्तालाई साक्षर बनाउने काम धितोपत्र बोर्डको मात्रै नभएको भन्दै उहाँले साक्षरताका लागि नेप्से तथा ब्रोकरका साथै सबै सरोकारवालाहरुको भूमिका भएको बताउनुभयो ।
ऋणपत्र जारी गर्ने बैंकलाई धन्यवाद दिदै अर्थमन्त्री खतिवडाले यसले दीर्घकालिन प्रभाव पार्ने भनाई राख्नुभयो ।
राम्रो कम्पनी छानेर दीर्घकालिन रुपमा लगानी गर्दा सेयर बजारबाट दालभात खान पुग्ने आम्दानी हुने भन्दै उहाँले सेयर बजारमा लगानी गर्दा ध्यान दिन लगानीकर्तालाई आग्रह गर्नुभयो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले पूँजी बजारमा बैंक तथा वित्तीय संस्थामात्रै नभई अन्य कम्पनीलाई पनि भित्र्याएर अन्तराष्ट्रिय अभ्यासमा नयाँ औजार पनि प्रयोगमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
शहरमा मात्रै केन्द्रित धितोपत्र बजारलाई ग्रामीण क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा जोड दिंदै उहाँले बजारको दायरालाई बृद्घि गर्दै कारोबारलाई आधुनिक प्रविधिमार्फत अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ऋणपत्र कारोबार सुरु भएको र सरकारी ऋणपत्रको कारोबार सूचिकृत गर्न समेत आग्रह गर्नुभयो । एक खर्ब छ अर्ब रुपियाँको अनलाइन कारोबार भएको भन्दै नेप्सेले लगानीकर्ता सचेतना कार्यक्रम बढाउने प्रतिबद्धता उहाँको थियो ।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले नीतिगत सुधार आवश्यक रहेको भन्दै अनलाइन मार्फत सेयर बजारको कर तिर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
सूचीकृत धितोपत्रहरुको कारोबार गर्ने गराउने मुख्य उद्देश्य स्टक एक्सचेन्जको हुन्छ । नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो ।

SHARE THIS