लगानीकर्तामा हराएको खुशी फर्किँदै, दुई साताको कारोबार झण्डै एघार अर्ब

काठमाडौं । यो साताको सेयर बजार निकै सन्तोषजनक देखिएको छ । करिब आठ महिनापछि लगानीकर्ताको १३ सयको विन्दुमाथि लागेको सेयर बजारले लगानीकर्तामा हराएको खुशी पनि फर्काइ दिएको छ ।
साताभर झण्डै एक सय अंकले उकालो लागेको यो साताको नेप्से परिसूचक १२१३.११ को विन्दुबाट शुरु भएर अन्तिम दिन १३१०.२३ को विन्दुमा पुगेर रोकिएको छ ।



यो सातको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६ अंकले उकालो लागेर १३१०.२३ विन्दुमा पुगेर अडिएको छ । यस दिन क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ३.९० अंकले उकालो लागेर २८२.८७ अंकमा पुगेको छ । समग्रमा साताको अन्तिम दिनदिनको नेप्से २.०२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स १.४० प्रतिशतले उकालो लागेको छ ।
सुधारको बाटो समाएको सेयर बजार यो साताको पहिलो दिनमै उच्च अंकले सुधारियो । आइतबार ४३ अंकले उकालो लागेको बजारलाई साथ दिंदै यस दिनको कारोबार रकम पनि ५० करोडले वृद्घि भएको थियो ।
आइतबारको सेयर बजार मापक नेप्से परिसूचक ४२.६१ अंकले उकालो लागेर १२५५.७२ को विन्दुमा पुगेर अडिएको थियो । यस दिन ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ८.४७ अंकले उकालो लागेर २७२.७३ अंकमा पुगेको थियो । समग्रमा साताको पहिलो दिनको नेप्से ३.५१ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स ३.२० प्रतिशतले उकालो लागेको थियो ।
आइतबार नेप्से परिसूचक पाँच महिनायताकै उच्चतम विन्दुमा पुगेको थियो भने यस दिन दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
अघिल्लो दिन घटेर बन्द भएको सेयर मापक नेप्से परिसूचक अन्तिम कारोबार दिन भने ३.१५ अंकले बढेर १२१३.११ को विन्दुमा पुगेको थियो । त्यस्तै क वर्गका कम्पनी मापक परिसूचक सेन्सेटिभ इण्डेक्स पनि ०.९५ प्रतिशतले सुधार भएर २६४.२६ विन्दुमा पुगेको थियो । समग्रमा नेप्से ०.२९ प्रतिशत र सेन्सेटिभ इण्डेक्स ०.३६ प्रतिशतले सुधार भएको थियो ।
लामो समयपछि १३ सयको विन्दु पछ्याएको नेप्सेले लगानीकर्तामा उत्साह जगाउँदै दोस्रो दिन पनि  १५ अंकभन्दा बढीले उकालो लागेको सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार पनि राम्रो भएको छ । यद्यपी यस दिनको नेप्से पहिलो दिनको तुलनामा कमी हो भने कारोबार रकम भने पहिलो दिनको तुलनामा ३७ करोडले बढी थियो ।
सोमबारको सेयर बजार मापक नेप्से परिसूचक १५.१४ अंकले उकालो लागेर १२७०.८६ को विन्दुमा पुगेर अडिएको थियो । यस दिन क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ३.५५ अंकले उकालो लागेर २७६.२८ अंकमा पुगेको थियो । समग्रमा साताको दोस्रो दिनको नेप्से १.२१ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स ३.५५ प्रतिशतले उकालो लागेको थियो ।
साताको सुरुका दिनमा सुधारको बाटो पछ्याएको सेयर बजारले मङ्गलबार ओरालो लागेको थियो । यद्यपि खरिदबिक्रीको रकमले भने लगानीकर्तामा उत्साह कायम राखेको थियो ।
बुधबारको नेप्से २०.८५ अंकले उकालो लागेर १२८४.२३ को विन्दुमा पुगेर अडिएको थियो । यस दिन क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ४.६८ अंकले उकालो लागेर २७८.९७ अंकमा पुगेको थियो । समग्रमा यस दिनको नेप्से १.६५ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स १.७१ प्रतिशतले उकालो लागेको थियो ।
सेयर बजार विज्ञ सिए सन्तोष शर्माका अनुसार पछिल्ला दिनहरुमा लगानीकर्ताको आत्मबल बलियो बन्दै गएको छ । उहाँका अनुसार झण्डै ४२ महिना ओरालोतर्फ लागिरहेको बजारले माथि जाने उपयुक्त अवसर खोजिरहेको थियो । बैंकहरुमा पर्याप्त रहेको तरलताले सेयर कर्जाका लागि लिइएको ब्याजदर घट्ने वा त्यो भन्दा नबढ्ने अपेक्षा लगानीकर्तामा बढ्नुका साथै पछिल्लो समय अर्थतन्त्रलाई चलायमान बनाउने राजधानीमा आयोजित साग खेलकुद र पर्यटन वर्ष २०२० ले महत्वपूण भूमिका खेलेको उहाँको विश्लेषण छ । सेयर बजारका विषयमा सधैं आलोचित अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सार्वजनिक समारोहहरुमा निरन्तर सकारात्मक अभिव्यक्ति दिनुले पनि सेयर बजारलाई सकारात्मक बाटोमा लगेको उहाँले बताउनुभयो ।

दुई साताको कारोबार झण्डै एघार अर्ब
सुधारोन्मुख सेयर बजारमा पछिल्लो दुई सातामा मात्रै झण्डै ११ अर्ब रुपियाँ बराबरको कारोबार भएको छ । अघिल्लो साताको कारोबार चार अर्बभन्दा माथि लागेको थियो भने यो साताको कारोबार रकम साढे छ अर्बभन्दा बढी भएको छ । यस साता दुई करोड ११ लाख ९७ हजार ४७० कम्पनीहरुको छ अर्ब ६७ करोड २० लाख ६० हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यो साता साढे दुई अर्ब रुपियाँले बढी हो  ।
अघिल्लो साता एक करोड ४६ लाख ८२ हजार चार सय कम्पनीहरुको चार अर्ब २२ करोड ५५ लाख ६० हजार रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।
शेयर बजारमा दैनिक कारोबार रकम पनि बढेको छ भने दोस्रो बजारमा औषत कारोबार रकम ४३ प्रतिशत बढेको छ । केही समय अघिसम्म दैनिक औषत ४७ करोड रुपियाँबराबरको शेयर खरिदबिक्री भइरहेको बजारमा अहिले ८४ करोडभन्दा बढीको औषत कारोबार हुन थालेको छ ।
यस साताको अन्तिम दिन १६१ कम्पनीको १७ हजार २९५ पटकको कारोबारमा एक अर्ब ६९ लाख ९९ हजार रुपियाँ बराबरको ५० लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आइतबार १७९ कम्पनीको १५ हजार ९०७ पटकको कारोबारमा एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार रुपियाँ बराबरको ३८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो । जुन अघिल्लो दिनको तुलनामा पचास करोड रुपियाँभन्दा बढी थियो ।
अघिल्लो बिहीबार १७७ कम्पनीका ३८ लाख ४९ हजार ७२२  कत्ता सेयर किनबेच हुँदा ८३ करोड ७० लाख ३५ हजार ७५७ रुपियाँको कारोबार भएको थियो । यो अघिल्लो दिनको तुलनामा १० करोड ६१ लाख भन्दा बढीको कारोबार थियो ।
सोमबार १८३ कम्पनीको १९ हजार ३५० पटकको कारोबारमा एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ रुपियाँ बराबरको ५१ लाख १८ हजार ६३६ कित्ता शेयर खरिदबिक्री भएको थियो । जुन अघिल्लो दिनको तुलनामा ३७ करोड रुपियाँभन्दा बढी थियो ।
तेस्रो दिन पनि १८३ कम्पनीका ३७ लाख ६६ हजार ९२८ कित्ता कारोबारबाट एक अर्ब दुई करोड ६४ लाख  ४३ हजार ६६६ रुपियाँको कारोबार भएको थियो । यो अघिल्लो दिनको तुलनामा ६७ करोड ८६ लाख रुपियाँले कम हो । बुधबार पनि १७७ वटा कम्पनीको ३० लाख ५५ हजार २३३ कित्ता शेयर ९० करोड ४८ लाख रुपियाँमा खरिद बिक्री भएको थियो ।
कूल बजार पूँजीकरण पनि १ खर्ब ४९ अर्ब बढेर १६ खर्ब ६९ अर्ब पुगेको यस साता इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक ३१.४९ प्रतिशतले उकालो लागेको छ । गत साता ६३२ रुपियाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य यस साता ८३१ रुपियाँमा अन्तिम कारोबार भएको छ । घोडीघोडा लघुवित्तको शेयरमूल्य यस साता ३१.२६ प्रतिशत र मञ्जुश्री फाइनान्सको ३०.६७ प्रतिशतले उकालो लागेको छ ।
कारोबार रकम र संख्याका आधारमा यस साता २६ करोड ७६ लाख ३० हजार रुपिँया बराबरको सेयर कारोबार भएर एनआईसी एशिया बैंक लिमिटेड शिर्ष स्थानमा रहेको छ । त्यसैगरी, शिवम् सिमेन्ट्स, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
कारोबारका लागि पाँचै दिन खुलेको नेपाल स्टक एक्सचेञ्जमा यो साता ग्लोबल आइएमई बैंकको ७२०८७०८१.२ मर्ज र सिर्जना फाइनान्सको २७६४६९२ राइट सेयर सूचीकृत भएको छ ।

SHARE THIS