काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पेस गर्नुभएको छ। उहाँले आज साँझ बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी राजीनामापत्र बुझाउनुभएको हो।
प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व कुशलतापूर्वक सम्हालेकोमा मन्त्री घिसिङलाई बधाई तथा धन्यवाद दिनुभयो। “निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका लागि ठूलो योगदान दिनुभएको छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “रातदिन नभनी खट्नुभयो, देशका विभिन्न भागमा पुग्नुभयो र विपद्का बेला अग्रपंक्तिमा रहेर काम गर्नुभयो।”
प्रधानमन्त्री कार्कीले विकास निर्माणमा देखिएका बेथितिविरुद्ध कठोर कदम चाल्नु घिसिङको उल्लेखनीय योगदान भएको उल्लेख गर्दै ती कार्यहरू देश र जनताले सधैं सम्झने बताउनुभयो। उहाँले घिसिङको आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो।
राजीनामा बुझाउने अवसरमा प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङलाई सम्मानस्वरूप खादा पहिराइदिनुभयो। सो अवसरमा उहाँले भन्नुभयो, “तपाईँ कुनै स्वार्थ वा व्यक्तिगत चाहनाले होइन, हामीले नै निम्त्याएर सरकारमा ल्याएका हौँ। विशेषगरी जेन–जी युवाको चाहनाअनुसार तपाईँलाई अवसर दिइएको हो। कुनै सुविधा नलिई निःस्वार्थ सेवा गर्नुभएको छ। आउँदा दिनमा देशका लागि अझै ठूलो योगदान दिन सक्नुहुनेछ।”
मन्त्री घिसिङले अन्तरिम अवधिमा सरकारमा रहेर काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आफूलाई सुम्पिएको जिम्मेवारी निर्वाह गर्न पाएको अवसरलाई सम्मानका रूपमा लिएको बताउनुभयो।
