गोरखापत्र दैनिकका आर्थिक पत्रकार बेल्बासे ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुँदै

काठमाडौं । गोरखापत्र दैनिकका आर्थिक पत्रकार भेषराज बेल्बासेलाई यस वर्षको ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत गरिने भएको छ ।

बेल्बासे र प्रुफरिडिङ शाखाका तीर्थराज अधिकारीलाई ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिन लागेको हो । पुरस्कारको राशी जनही पाँच हजार ५५५ र सम्मानपत्र रहेको छ ।

नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले गोरखापत्रको १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने पुरस्कारको टुङ्गो लगाएको छ । प्रतिष्ठान शाखाका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले सो टुङ्गो लगाएको हो ।

निर्णयअनुसार वरिष्ठ पत्रकार तथा साहित्यकार विजयकुमार चालिसेलाई ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी ५० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

युवामञ्च मासिकका सम्पादक उमेश ओझालाई ‘गोरखापत्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । पुरस्कारको राशी नगद १० हजार र सम्मानपत्र रहेको छ । त्यसैगरी, दि राइजिङ नेपालका विनु श्रेष्ठ र गोरखापत्र अनलाइन डटकमका सपना थामीलाई ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय गरिएको छ ।


SHARE THIS