लामो समयदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक क्षेत्रबाट हदैसम्मको प्रयास : राष्ट्र बैङ्क

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क आइतबारदेखि स्थापनाको ६९ वर्ष पूरा गरी ७० औँ वर्षमा प्रवेश गरेको छ ।

राष्ट्र बैङ्कले आइतबार राजधानीमा आयोजना गरेको ७० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्र बैङ्कका का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्थापना कालदेखि राष्ट्र बैङ्कले समष्टिगत आर्थिक स्थायित्व र वित्तीय क्षेत्रको प्रवर्धनमार्फत देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो ।

अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको भन्दै उहाँले मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको उहाँले बताउनुभयो ।

लामो समयदेखि शिथिललाई अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक क्षेत्रबाट हदैसम्मको प्रयास गरिएको भन्दै उहाँले अधिक तरलता र न्यून ब्याजदरका साथै बाहृय क्षेत्र परिसूचकहरू सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको बताउनुभयो ।

पछिल्लो उपलब्ध सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक बृद्धिको तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार हुँदै गएको आँकलन गर्न सकिने भन्दै उहाँले भन्नुभयो – ‘विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैङ्क तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा छ ।’

वित्तीय स्थायित्वका लागि अपनाइएका नियमनकारी व्यवस्थाको प्रभावसमेत देखिँदै गएको भन्दै गभर्नर डा. ढुङ्गानाले यसरी मौद्रिक, वित्तीय तथा विदेशी विनिमय नीतिमार्फत समिष्टगत आर्थिक स्थायित्व कायम राख्न राष्ट्र बैङ्क कटिबद्ध रहेको बताउनुभयो ।

पछिल्लो समय खासगरी अमेरिकी अन्तराष्ट्रिय व्यापार एवम् आर्थिक सहयोग नीति र भूराजनीतिक तनावजस्ता बाहृय कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम भने कायमै रहेको उहाँको भनाई थियो ।

नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको भन्दै उहाँले विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको जानकारी दिनुभयो । विप्रेषण आप्रवाह र पर्यटन आयमा बृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको उहाँले बताउनुभयो ।

वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको जानकारी दिंदै उहाँले भन्नुभयो – ‘देशका ७५३ स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा विस्तार भएको छ भने उल्लेख्य रूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा बृद्धि भएको छ । राष्ट्र  बैङ्कले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको छ । अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तरआबद्धता समेत प्रारम्भ भएको छ ।’

राष्ट्र बैङ्कका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सहकारी समस्या समाधान गरेर नागरिकको पैसाको फिर्ता गरेमा अर्थतन्त्र लयमा फर्किन सक्ने भन्दै यसले मानिसको क्रयशक्ति बलियो बनाउने भएकोले त्यसमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपालले होनहार युवाहरू बाहिर गएर पठाएको र रेमिट्यान्सले नेपालको अर्थतन्त्र मजबुत स्थितिमा देखिएकाले यसमा मात्रै सन्तुष्ट हुने ठाउँ नरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्र बैङ्कका पूर्व गर्भनर क्षेत्रीलाई सम्मान गरिएको थियो । यस्तै राष्ट्र बैङ्कमा २० वर्षभन्दा बढी सेवा प्रदान गर्ने कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।


SHARE THIS