काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि निकै महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने स्पष्ट गर्नुभएको छ। “ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो। यसलाई व्यवस्थित ढंगले अघि बढाउन कार्यविधि निर्माणका लागि आवश्यक अध्ययन अनुसन्धान थालिसकेको छ,” मन्त्री खड्काले भन्नुभयो।
उहाँको पहलमा काठमाण्डौ विश्वविद्यालयका प्राध्यापकहरूको सहजीकरणमा मन्त्रालयमा ग्रीन हाइड्रोजनसम्बन्धी विशेष प्रस्तुतीकरण र छलफल सम्पन्न भएको हो। छलफलमा मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको धारणा राख्नुभयो।
छलफलमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिनुभयो। उहाँले वातावरणमैत्री प्रविधिको प्रयोगले ईटा भट्ठा र केमिकलजन्य उद्योगहरूबाट हुने प्रदूषण कम गर्न सकिनेमा जोड दिनुभयो।
त्यस्तै, सिंचाई सचिव सरीता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी र संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताउनुभयो। उहाँले अन्तरमन्त्रालय समन्वयमा सरकारले आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पार्नुभयो।
कार्यदलका संयोजक एवं सहसचिव जिवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै देशहरूले सफलतापूर्वक उपयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यसको ठूलो सम्भावना रहेको धारणा राख्नुभयो।
काठमाडौँ विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रा.डा. विराज सिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तर्राष्ट्रिय तुलनामा सस्तो पर्ने भएकाले यसलाई शीघ्र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार जापान, कोरिया, भारत र युएईजस्ता देशहरू यस प्रविधिलाई व्यवहारमा ल्याइसकेका छन्, र नेपाल पनि पछि नपर्ने अवसर अहिले नै रहेको छ।
छलफलमा मन्त्रालयका सहसचिवद्वय सुशील चन्द्र आचार्य, सरेन्द्र घिमिरे, अर्थ विज्ञ अमित श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका डा. राम लामा र डा. लक्ष्मण लामालगायतको उपस्थिति रहेको थियो।