महालक्ष्मी सबैभन्दा कम कोष लागत भएको विकास बैङ्क

काठमाडौं । महालक्ष्मी विकास बैङ्क आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैङ्क बनेको छ ।

बैङ्कले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत मसान्तसम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैङ्कको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैङ्कको आधार दर चैत मसान्त सम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैङ्कहरु भन्दा कम रहेको छ । बैङ्कको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।
त्यसै गरी नेपाल राष्ट्र बैङ्कले तोकेको न्यूनत्तम पूँजी कोषको तुलनामा महालक्ष्मी विकास बैङ्कको न्यूनत्तम पूँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म १५.७५ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०/८१ चैत मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । न्यूनतम पूँजी कोष बढी भएको अवस्थामा बैङ्कहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैङ्क पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ ।
हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैङ्किङ सुविधा उपलब्ध गराउने बैङ्कको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ भने आगामी दिनहरुमा बैङ्कले आफ्ना वित्तीय सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै जाने समेत बैङ्कले जनाएको छ ।


SHARE THIS