पुस महिनामा अधिकांश वाणिज्य बैङ्कको ब्याजदर मङ्सिरकै निरन्तरता

काठमाडौं । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कहरुले पुस महिनाको लागि मङ्सिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

पुसका लागि केही वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर घटाएका छन् भने केहीले भने बढाएका पनि छन् । कुल वाणिज्य बैङ्कहरुमध्ये १४ वटाले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । तीन वटाले निक्षेपको ब्याजदर सामान्य बढाएका छन् भने तीन वटाले घटाएका छन् ।

मङ्सिर महिनाको तुलनामा पुसमा वाणिज्य बैङ्कहरुको औसत ब्याजदर ०.०५ प्रतिशत विन्दुले बढेर ६.०२ प्रतिशत निर्धारण भएको छ । मङ्सिरमा वाणिज्य बैङ्कहरुको औसत ब्याजदर ५.९७ प्रतिशत निर्धारण भएको थियो ।

पुस महिनाका लागि ब्याजदर बढाउनेमा एनएमबी बैङ्क, प्राइम कमर्सियल बैङ्क र कृषि विकास बैङ्क रहेका छन् । यता नेपाल बैङ्क, सानिमा बैङ्क र एनआईसी एसिया बैङ्कले भने मङ्सिरको तुलनामा पुसका लागि ब्याजदर घटाएका छन् ।

नेपाल बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.३५ प्रतिशतले घटाएर ५.६ प्रतिशत ब्याज कायम गरेको छ भने एनआईसी एसियाले ०.१९ प्रतिशतले घटाएर ६.६ प्रतिशत र सानिमा बैङ्कले ०.१ प्रतिशतले ब्याज घटाएर ६.०५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै कृषि विकास बैङ्कले भने ०.०४ प्रतिशतले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.५७ प्रतिशत कायम गरेको छ भने प्राइम कमर्सियल बैङ्कले ०.५ प्रतिशतले बढाएर ६.२५ प्रतिशत र एनएमबी बैङ्कले १.०३ प्रतिशत ब्याज बढाएर ६.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

पुस महिनाका लागि मङ्सिरकै ब्याजदर कायम गर्नेहरुमा राष्ट्रिय वाणिज्य बैङ्क, प्रभु बैङ्क, स्टान्डर्ड चाटर्ड बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, लक्ष्मी सनराइज बैङ्क, सिटिजन्स बैङ्क, ग्लोबल आईएमई बैङ्क, नबिल बैङ्क, कुमारी बैङ्क, माछापुच्छ्रे बैङ्क, सिद्धार्थ बैङ्क, नेपाल एसबीआई बैङ्क, एभरेस्ट बैङ्क र हिमालयन बैङ्क रहेका छन् ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ भने कर्जाको ब्याजदर न्यूनतम विन्दुमा आए पनि कर्जा प्रवाह सुस्त छ । प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून बिन्दुमा आएको छ ।

राष्ट्र बैङ्कको निर्देशन अनुसार आउने महिनाका लागि बैङ्क तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न नपाइने राष्ट्र बैङ्कको निर्देशनका आधारमा बैङ्क तथा वित्तीय संस्थाले हरेक महिनाको अगाडि नै ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।


SHARE THIS