सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको एकैसाथ छ आर्थिक वर्षको साधारणसभा सम्पन्न

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले एकैपटक छ  आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षको र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षको गरी छ आर्थिक वर्षको साधारण सभा एकैपटक जेठ ३१ गते आइतबार सम्पन्न गरेको हो ।

राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं वार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा सम्पन्न साधारण सभाले साविकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ सम्म गरी तीन वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ सम्म गरी तीन वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको हो ।

साथै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गरेको छ । जसको पारिश्रमिक प्रतिवर्ष पाँच लाख रुपियाँ छ ।

त्यस्तै, सभाले रिक्त रहेको सञ्चालक समितिमा रविकुमार टिवडेवाललाई निर्विरोध निर्वाचित गरेको छ । उहाँ सर्वसाधारण सेयरधनीकोतर्फबाट कम्पनीको सञ्चालकमा निर्वाचित हुनुभएको हो ।

धितोपत्र दोस्रो बजारमा राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै रहेको छ । सरकारी स्वामित्वको निर्जीवन बीमा व्यवसाय गर्ने उक्त कम्पनीको धितोपत्र दोस्रो बजारमा १२ हजार सात सय रुपियाँ सेयरमूल्य रहेको छ ।


SHARE THIS