गायक विपिनको जिउँछु मर्छु सार्वजनिक

 काठमाडौँ, वैशाख १९ गते

गायक तथा सङ्गीतकार विपिन घिमिरेको ‘जिउँछु मर्छु...’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङका शब्दमा विपिन घिमिरेको सङ्गीत छ भने विपिन र रोशनी थापाको स्वर रहेको छ । रोशनी थापाले निर्माण गरेको गीत प्रेमिल भावमा शालीन शब्द छन् । अहिलेको समयमा व्यस्त रहेका विपिन घिमिरेका सृजना अझै आउने क्रममा रहेका छन् ।


सरलता र स्पष्टताका कारण र स्वर सङ्गीत दुवै न्यायोचित हुने हुँदा धेरै स्रष्टा सर्जक नयाँ स्वादकोलागि विपिनसँग काम गर्न रूचाउछन् उनी भन्छन्, “कला सृजनाको मापक भनेको सुन्दरता हो । त्यसमा ध्यान दिनुपर्छ । विशेष गरि धेरै विश्वास र भरोसाका साथ स्रष्टा र लगानीकर्ता मसँग सहकार्य गर्न आउने हुँदा त्यो भावलाई सम्मानपूर्वक स्वागत गर्दै स्पष्ट रूपमा काम अघि बढाउँदा आनन्द आउँछ ।” अध्ययन, अनुभवका साथै लोकप्रिय व्यक्तिहरूको सङ्गतबाट धेरै अनुभव लिएका विपिनमा नयाँ कार्यकालागी धेरै आकर्षित देखिन्छन् ।
विश्व अधिकारीको सङ्गीत संयोजन, कुमार केसीको ध्वनि सम्पादन तथा रामकुमार केसीको निर्देशन छायाङ्कन रहेको गीत श्रवणीय र उच्च कोटिको छ । हालसम्म आफ्ना सङ्गीतमा लोकप्रिय गायक गायिकाको स्वर मार्फत प्रसतुत भइसकेका विपिनले आगामी सृजनामा केही पृथक् शैली अपनाउँदै अघि बढ्ने बताए । उनी भन्छन्, “देश काल परिस्थिति वा समग्र परिवेशले सबैलाई उस्तै प्रभाव पार्ने हुँदा कलाकारलाई बेग्लै भएर सृजना गर्न चुनौतीपूर्ण छ । यसर्थ ज्ञानको दायरा फराकिलो पार्दै परम्परागत शैलीको झल्को दिँदै प्राविधिक रूपले फरक स्वाद पस्कनु पर्छ ।”
नेपालको सामाजिक, ऐतिहासिक र गर्भिला विषयवस्तुमा अझै साङ्गीतिक कार्य हुन नसकेको र राष्ट्रिय गीतबाट मात्र त्यसको भाव पुरा नभएको र यसलाई पृथक् अवधारण तयार गर्दै गरेको पनि उनले बताए । हाल उनी सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा गायकका रूपमा कार्यरत छन् ।

SHARE THIS