चैतदेखि घट्दै ब्याजदर, कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा माथि नजाने

काठमाडौँ । पछिल्लो समय बढ्दो ब्याजदरकै कारण प्रताडित व्यवसायी तथा सर्वसाधारणलाई राहत हुने भएको छ ।

वाणिज्य बैंकका सीइओहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले आगामी चैतदेखि बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने भएको छ । एसोसिएसनको बिहीबार बसेको बैठकले बचतको ब्याजदर घटाएर न्यूनतम छ प्रतिशत र अधिकतम आठ प्रतिशत कायम गर्ने  निर्णय गरेको एसोसिएसनका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । यस अघि बैंकहरुले बचततर्फको न्यूनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत लिँदै आएका थिए ।

एसोसिएसनले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम पाँच प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । जुन यस अघि बैंकहरुले छ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए ।

एसोसिएसनले कल निक्षेपमा बैंकहरूले ३.२१ प्रतिशतसम्म ब्याजदर दिँदै आएकोमा यसलाई घटाएर तीन प्रतिशतमा झारेको छ ।

एसोसिएसनको निर्णयसँगै वाणिज्य बैंकहरुले ऋणको ब्याज तय गर्दा आधार दरमा बढीमा पाँच प्रतिशत मात्र प्रिमियम जोड्न पाउने भएका छन् । यसअघि सात प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका बैंकहरुले चैत देखि घटाएर पाँच प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

बैंकहरुले गत माघमा ब्याजदर घटाएर १२.१३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए । माघ, फागुन र चैत्र महिनामा घटेको ब्याजको असर बेस रेटमा देखिने भएकाले तीन महिनाको औसत बेसरेट वैशाखदेखि लागु हुने बैंकिङ क्षेत्रको औसत बेसरेट घट्ने एकल अंकमा आउने देखिएको छ ।

एकल अंकको बेसरेट अर्थात नौ प्रतिशतमा अधिकतम पाँच प्रतिशत प्रिमियम जोड्दा कुनै पनि कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा बढी नहुने भएको छ ।


SHARE THIS