लघुवित्त संस्थाको खुद मुनाफामा उल्लेखनिय -हास, पुँजीकोषको स्थिति सन्तोषजनक

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा ¥हास आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैयमासको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा ¥हास आएको छ । २०७९ पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी तीन अर्ब ३९ करोड रुपियाँ र ब्याज खर्च एक अर्ब ९१ करोड रहेको छ । समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले ७९ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रयमासको तुलनामा ४.२० प्रतिशतले कम हो ।

समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा पनि उल्लेखनिय -हास आएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको २०७८ पुस मसान्तमा खुद मुनाफा पाँच अर्ब ८९ करोड रहेकोमा ५८.९० प्रतिशतले -हास भई २०७९ पुस मसान्तमा खुद मुनाफा दुई अर्ब ४२ करोड पुगेको छ ।

समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी २७ अर्ब ३३ करोड र ब्याज खर्च १६ अर्ब पाँच करोड रहेको छ । यस अवधिमा सञ्चालित ६० खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये आठ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिएको छ ।

पुँजीकोष सन्तोषजनक

लघुवित्त वित्तीय संस्थाहरुको पँुजीकोषको स्थिति समग्रमा सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १२.२३ प्रतिशत र १३.४५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २.२३ प्रतिशतले र जोखिम भारित सम्पत्ति १.०७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः १६.५७ प्रतिशत र १५.६० प्रतिशतले बढेको थियो ।

इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन– २०७८ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः चार प्रतिशत र आठ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

सापटी रकम बढ्यो

वित्तीय स्रोत संकलन थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको सापटी रकममा सामान्य बृद्वि भएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । समिक्षा अवधिमा थोक लघुवित्त वित्तीय संस्थाहरूले ५० अर्ब वित्तीय स्रोत संकलन गरेका छन् जुन २०७९ असार मसान्तको तुलनामा ५.५७ प्रतिशतले बढेको देखिएको छ । आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक अवधिमा वित्तीय स्रोत संकलनमा १०.४९ प्रतिशतले बृद्वि भएको थियो । लघुवित्त वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वित्तीय स्रोत संकलन अघिल्लो त्रैमासको प्राथमिक पँुजीको ५.४१ गुणा रहेको छ ।

बचत-निक्षेप संकलन बढ्यो

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले बचत-निक्षेप संकलन रकम बढाएका छन् भने उक्त संस्थाहरुले लिने सापटी रकममा संकुचन आएको छ । २०७९ पुस छ मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत-निक्षेप संकलन एक खर्ब ६६ अर्ब ९३ करोड रुपियाँ र सापटी एक खर्ब ७७ अर्ब २६ करोड रुपियाँ गरी जम्मा तीन खर्ब ४४ अर्ब १९ करोड रुपियाँ वित्तीय स्रोत संकलन गरेका छन् । उक्त बचत-निक्षेप संकलन र सापटी रकम अघिल्लो आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासमा क्रमशः ११.९९ र १४.३८ प्रतिशतले बढेकोमा यस आर्थिक वर्षको दोस्रो त्रयमासमा बचत-निक्षेप संकलन ४.९७ प्रतिशतले बढेको छ भने सापटी रकम ४.८१ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्रोत संकलन अघिल्लो त्रैमासको प्राथमिक पूँजीको ६.८४ गुणासम्म पुगेको छ । प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ ।

लगानी बढी

लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा बृद्वि भएको छ । २०७९ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी नौ अर्ब ३७ करोड रुपियाँ पुगेको छ जुन २०७९ असार मसान्तको तुलनामा ५३.७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा कुल लगानी ३२.६१ प्रतिशतले घटेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेपमा २०७९ पुस मसान्तसम्म सात अर्ब ६१ करोड रुपियाँ राखेका छन् जुन रकम २०७९ असार मसान्तको तुलनामा ७०.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दती निक्षेपमा राखेको रकम ३८.०१ प्रतिशतले घटेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्दती निक्षेपमा गरेको लगानीमा उल्लेखनीय बृद्वि भएको देखिन्छ ।

जोखिम भारित सम्पत्ति र कुल सम्पत्ति २०७९ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुबै बढेको छ । उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति पाँच खर्ब ११ अर्ब आठ करोड पुगेको छ । यो २०७९ असार मसान्तको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति १२.२९ प्रतिशतले बढेको थियो । २०७९ पुस मसान्तमा कुल जोखिम भारित सम्पत्ति कुल सम्पतिको ९४.४१ प्रतिशत रहेको छ जुन २०७९ असार मसान्तमा ९३.९९ प्रतिशत रहेको थियो ।


SHARE THIS