सहकारीमा समस्या होइन, चुनौती छ, मिलेर सामना गरौ : रजिष्ट्रार घिमिरे

काठमाडौँ । सहकारी विभागका नवनियुक्त रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नभई चुनौती रहेको भन्दै सबै मिलेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसँग आब्हान गर्नु भएको छ ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसँग शनिबार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, मुलुकको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन, हाम्रा कारणले समस्या आएको होइन, भने यसलाई हाम्रो समस्याका रुपमा होइन चुनौतीका रुपमा हेर्नुपर्छ ।’ रजिष्ट्रार घिमिरेले भन्नुभयो – ‘चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनु पर्दछ ।’ सहकारीमा समस्या छ भन्ने कुरालाई छोडेर चुनौती छ, हामी सामना गर्छौं भन्ने दृढ विश्वासका साथ सहकार्यमा जोडिन उहाँले सहकारी अभियानकर्मीहरुलाई आब्हान गर्नुभयो ।

सहकारीको विकास र प्रवद्र्धन गरी मुलुकलाई आर्थिक रुपमा सवल बनाउनका लागि कानुन वाधक देखिए कानुन संशोधन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले कानुनले राम्रो कामका लागि वाधा होइन, सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

‘कानुनलाई देखाएर राम्रो काम भएन भन्ने होइन, राम्रो कामका लागि सहजीकरण र गलत गर्नेलाई कार्वाही गर्न कानुन सहयोगी हुनुपर्छ । कानुन नियन्त्रणका लागि होइन, सहजीकरणका लागि हो, द्विविधामा मार्ग प्रशस्त गर्ने भएकाले सहकारीको समस्या समाधानका लागि कानुन वाधक भए सहजीकरण गर्नु पर्दछ ।’ रजिष्ट्रार घिमिरेले भन्नुभयो ।

सहकारी ऐनमा भएका प्रावधानहरुको कार्यान्वयनका लागि सबैसँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको चर्चा गर्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भइरहेका कामको बारेमा जानकारी गराउनुभयो । ‘यतिबेला सहकारीलाई बचाउनु पर्ने वाध्यता छ, सबै मिलेर बचाऔं र संगै सहकारीको सुशासनका लागि प्रवद्र्धनसंगै नियमन र अनुगमनमा लागांै ।’ अध्यक्ष उप्रेतीले भन्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी बैंकको विगत, वर्तमान र आगामी योजना लगायत सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा बैंकले खेलेको भूमिका लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

सहकारी विभागमा हालै आउनु भएका रजिष्ट्रार नमराज घिमिरेलाई बैंकको सञ्चालक समितिका तर्फबाट स्वागत गरिएको थियो । अध्यक्ष उप्रेती, निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीलगायत सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा रजिष्ट्रार घिमिरे र उपरजिष्ट्रार उपाध्यायलाई स्वागत गरिएको हो ।


SHARE THIS