छ अर्ब १५ करोड बीमाशुल्क संकलन, एक अर्ब ५८ करोड दाबी भुक्तानी

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको पुष मसान्तसम्म छ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ भने एक अर्ब ५८ करोड दाबी भुक्तानी गरेको छ ।

संस्थान ५६ औं वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा संस्थानका प्रशासक कविप्रसाद पाठकले सोही अवधिमा संस्थानको जीवन बीमा कोष ४५ अर्ब ९१ करोड  पुगेको छ तथा संस्थानको हाल कुल सक्रिय बीमालेख संख्या पाँच लाख ६० हजार रहेको बताउनुभयो ।

सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरुमा आफ्नो श्रोतको उपयोग गर्ने सिलसिलामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख सेयर पूँजी लगानी रहेको जानकारी गराउँदै उहाँले ऋण लगानी दुई अर्ब ८० करोड गरेकोमा ब्याज पूँजीकरण सहित हाल चार अर्ब ८८ करोड रहेको जानकारी गराउनुभयो । हाल यो लगानीको ब्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको उहाँको भनाई छ ।

संस्थानद्घारा जलविद्यूत लगानी तथा विकास कम्पनी लिमिटेडमा एक अर्ब सेयर लगानी गरिएको छ भने विद्यूत उत्पादन कम्पनी लिमिटेडमा छ करोड ६० लाखको संस्थापक सेयर लगानी गरिएको छ ।  नागरिक लगानी कोषमा कुल सेयर पूँजी मध्ये संस्थानको ३१.५ प्रतिशत स्वामित्व रहेको जानकारी दिंदै उहाँले भन्नुभयो – ‘‘यसको अतिरिक्त सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमइ बैंक, एनआईसी एशिया बैंक तथा नेपाल पुनर्बीमा कम्पनी जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण सेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३० अर्ब २० करोड तथा डिबेञ्चरमा पाँच अर्ब १० करोड लगानी रहेको छ । यस अवधिमा लगानीबाट संस्थानले एक अर्ब ८६ करोड आम्दानी गरेको छ ।”

संस्थानका प्रशासक पाठकले संस्थान स्थापनाको ५६ औ वर्षमा प्रवेश गरिरहँदा मुलुकमा स्थापित जीवन बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै यसले आफ्नो पहिचानलाई थप मजबुत गराउँदै लगेको बताउनुभयो ।

चालु आर्थिक वर्षको अन्तसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कन सम्पन्न भइसकेको अवधिको साधारणसभा सम्पन्न गर्ने साथै बाँकी अवधिका लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कनको कार्य सम्पन्न गर्ने संस्थानको भावी कार्य योजना रहेको उहाँले बताउनुभयो ।

संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पूँजी बृद्घि गर्ने, तोकिएको समयावधि भित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने पनि संस्थानको भावी कार्य योजना रहेको उहाँले बताउनुभयो ।

अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएको भन्दै भन्नुभयो – “यो स्थापनाको कालमा संस्थान एक्लै थियो सिधै हिँडे पुग्थ्यो । अहिले समय फेरिएको छ । दायाँ बायाँ प्रतिष्प्रधीहरुसँग प्रतिष्प्रर्धा गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । यो प्रतिष्पर्धा गर्ने सन्दर्भमा राष्ट्रिय बीमा संस्थानले सामथ्र्य राख्छ र राख्नुपर्छ ।”

सरकारी विद्यालयहरुले राम्रो ख्याती कमाउन थालेको बेलामा बीमा क्षेत्रले पनि त्यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो – “बीमा संस्थानले लामो इतिहास बोकेको छ । अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन् । प्रतिस्पर्धीहरु बढेका छन् । अब बीमा संस्थानले दायाँ बायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ।”

बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले संस्थान नेपालको वित्तीय क्षेत्रकै धरोहर भएको भन्दै बीमा बजारमा मानव संशाधन उत्पादनदेखि बजारीकरणमा समेत योगदान पु¥याएको बताउँदै कुनैबेला नेपालको राम्रो संस्थानको साख बनाएको बीमा संस्थानले फेरी एकपटक पुरानो साख कायम गर्ने बेला आएको बताउनुभयो ।

संस्थानका अध्यक्ष इश्वर पौडेलले संस्थानका समस्या र चुनौतिका सवालमा अर्को वार्षिकोत्सवमा हामी धेरै माथि उठ्यौं भन्ने अवस्था सिर्जना हुने बताउनुभयो । पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको उहाँले बताउनुभयो ।


SHARE THIS