बीमा प्राधिकरणलाई नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनले गर्‍यो स्वागत

काठमाडौं । हालै प्राधिकरणमा रुपान्तरण भएको तत्कालिन (बीमा समिति) नेपाल बीमा प्राधिकरणलाई नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनले स्वागत गरेको छ ।

कुपोण्डोलस्थित प्राधिकरणको कार्यालयमा पुगेको सर्भेयर्स एसोसिएसनको टोलीले प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भेटगरी स्वागत तथा बधाई दिएको हो ।

सो अवसरमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा क्षेत्रमा नेपाल सर्भेयर एसोसिएसनको सक्रियता र योगदान सराहनीय रहेको भन्दै आगामी दिनमा सहकार्यबाट अगाडि बढ्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

सर्भेयर एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बीमा क्षेत्र र समसामयिक विषयवस्तुबारे जानकारी गराउनुभएको थियो ।

बीमा समिति मङ्गलबारदेखि औपचारिक रूपमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको हो । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।

गत भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको एक महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मङ्गलबारदेखि  लागू भएसँगै बीमा समिति प्राधिकरणमा रूपान्तरण भएको हो ।


SHARE THIS