सञ्चालनमा आयो “वर्क वेस्ड स्किल डेभलपमेण्ट प्रोग्राम”

काठमाडौं । पर्यटन, कृषि र निर्माणको क्षेत्रका अनौपचारिक कामदार, महिला तथा विदेशबाट फर्केकाहरुलाई लक्षित गरी “वर्क वेस्ड स्किल डेभलपमेण्ट प्रोग्राम” परियोजना सञ्चालनमा आएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको सहकार्यमा बागमती प्रदेश, मधेश प्रदेश र १ नं. प्रदेशका पर्यटन, कृषि र निर्माणको क्षेत्रका अनौपचारिक कामदार, महिला तथा विदेशबाट फर्केकाहरुलाई लक्षित गरी सो परियोजना सञ्चालन गरेको छ ।

करिब चार महिने अवधिको उक्त परियोजनालाई महासंघका अध्यक्ष श्री उमेश प्रसाद सिंहले गमलाको फुलमा जल सिंचन गरी शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरी, उपाध्यक्षहरु हरिहर थापा,  सत्यनारायण प्रजापति, महासचिव डम्वर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत प्रसाद पाण्डेलगायत पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शुभारम्भ कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया र भावी कार्ययोजनाको बारेमा महासंघका कार्यक्रम प्रबन्धक जगन्नाथ पौडेलले प्रस्तुति मार्फत जानकारी गराउनु भएको थियो । परियोजना अवधिमा १६० जना अनौपारिक क्षेत्रका कामदार, महिला तथा विदेशबाट फर्केकालाई पर्यटन, कृषि र निर्माण क्षेत्रसँग सम्बन्धित विषयमा सीपमूलक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगार बनाइने बताइएको छ ।


SHARE THIS