साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो : उद्योगमन्त्री मधेश प्रदेश

काठमाडौं । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो हुने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै मुलुकको अर्थतन्त्रको जग भएको भन्दै यस्ता उद्योगको प्रवद्र्घनबाट मात्रै मुलुकको अर्थतन्त्र समृद्घ बन्ने बताउनुभयो ।
स्थानीय मौलिक उद्योगका उत्पादनलाई बढावा दिने र बढ्दो आयातलाई न्यूनीकरण गर्नुपर्ने अहिलेको राष्ट्रिय प्राथमिकताको विषय भएको भन्दै उहाँले गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन कसरी गर्न सकिन्छ उद्योगी व्यवसायी तथा सरोकारवाला निकायहरुबाट अध्ययन आवश्यक भएको बताउनुभयो ।
साना उद्योगीका हरेक समस्यालाई बुझेर औद्यागिकरणमा लैजाने सरकारको प्राथमिकता भएको भन्दै मन्त्री महतोले भन्नुभयो – “साना तथा घरेलु उद्योग र उद्योगीको सम्मानबाट नै अर्थतन्त्र माथि उठ्छ । यसका लागि सरकार सहजीकरण र सहकार्य गर्न तयार छ ।”
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले वि.सं. २०४७ सालदेखि नै साना तथा घरेलु उद्योगीहरुको लागि पैरवी गर्दै आएको बताउँदै स्वदेशी वस्तु उत्पादन र प्रयोग बढाउनुपर्छ भनेर निरन्तर सरकारलाई दबाब दिइरहेको बताउनुभयो ।
नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच र वित्तीय पहुँच रहेको बताउनुभयो ।
स्वदेशी वस्तुको प्रवद्र्घन र बजारीकरण गर्नका लागि मधेश प्रदेशमा निर्यातगृह र बिक्री कक्ष सञ्चालनमा ल्याउन पनि उहाँले मन्त्री महतोको ध्यानाकर्षण गराउनुभयो ।
महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले घरघरमै उद्योग भएको मधेश प्रदेशमा लघु, घरेलु तथा साना उद्योगका साथै महिला उद्योग ग्राम पनि सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो – “त्यहाँ बजारीकरणको समस्या भएको व्यवसायीको गुनासो छ । भोलीका दिनमा व्यवसायमा पुस्ता हस्तान्तरण गर्न आवश्यक छ । कम्तिमा जिल्ला जिल्लामा बिक्री कक्ष राख्ने र औद्योगिक प्रदर्शनी आयोजना गर्ने विषयलाई मधेश प्रदेशले प्राथमिकता दिनुप¥यो ।”
कार्यक्रममा महासंघका उपाध्यक्षहरु हरिहर थापा, नेत्र पाठक, मोहन कटुवाल, सत्यनारायण प्रजापति, शोभा गुरुङ तथा सदस्य विरेन्द्र जत्ती, महासंघको महिला उद्यमी समिति सचिव डा. सोनी महतोलगायतले पनि आफ्ना भनाई राख्नुभएको थियो ।

SHARE THIS