मर्जरकै इतिहासमा नयाँ रेकर्ड, अहिलेसम्मकै ठूलो वाणिज्य बैंक बन्दै "नेपाल इन्भेष्टमेण्ट मेगा"

काठमाडौं । ठूला वाणिज्य बैंकहरु मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले आपसमा मर्जर भएपछि अहिलेसम्मकै ठूलो वाणिज्य बको सम्झौता गरी सकेका छन् । मर्जर पछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाम एकीकृत कारोबार गर्ने गरी यी बैंकहरुले मर्जर सम्झौता गरेका हुन् ।

हाल २७ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु यी बैंकको मर्जर सम्पन्न भएसँगै २६ वटामा झर्नेछन् । तर, मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक भने सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलोे वाणिज्य बैंकको रुपमा स्थापित हुनेछ ।

अहिले नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा सञ्चालनमा रहेको ग्लोबल आइएमई बैंकलाई समेत पछि पार्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३४ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्ने प्रक्रिया सुरु भएको हो ।

ग्लोबल आईएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेपछि २३ अर्ब ७९ करोड रुपैयाँ रुपैयाँ पुँजी कायम गरी नेपालकै सबैभन्दा ठूलोे वाणिज्य बैंक बनेको थियो । तर, मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर सम्झौताले ग्लोबल आईएमई बैंकको उक्त ‘ट्याग’ लाई खोस्ने भएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । दुवै बैंक एक भएपछि चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ भइ सबैभन्दा बढी पुँजी भएको वाणिज्य बैंक बन्ने मर्जर सम्झौतापछि दुवै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यी बैंक १००:९० को स्वापमा मर्ज हुने बताइएको छ । नयाँ बन्ने बैंकमा नेपाल इन्भेष्टमेण्टको १०० कित्ता सेयरधनीको १०० कित्ता र मेगाको १०० कित्ता सेयरधनीको ९० कित्ता सेयर हुनेछ । १०० बराबर ९० को स्वाप अनुसार नयाँ बैंकको ३२ अर्ब ८१ करोड हुनेपर्ने हो । तर, संयुक्त विज्ञप्तिमा ३४ अर्बभन्दा बढी हुने दाबी गरिएको छ ।

मर्जर पछि बन्ने बैंकको गजेडा कोष, कर्जा लगानी, निक्षेप संकलन समेत वाणिज्य बैंकहरु मध्येकै सबैभन्दा धेरै हुने देखिन्छ ।

हाल नेपाल इन्भेष्टमेण्टको जगेडा कोषमा १४ अर्ब ८२ करोड र मेगाको जगेडा कोषमा ५ अर्ब ९२ करोड रुपैयाँ मौज्दात छ । मर्जर पछि बन्ने बैंकको जगेडा कोषमा २० अर्ब ७४ करोड रुपैयाँ हुनेछ ।


SHARE THIS