दुई सातासम्म २७३ अंकले ओरालो लागेको बजार बिहीबार थामियो

काठमाडौँ । निरन्तर १४ कारोबार दिनसम्म ओरालो लागेको सेयर बजार १५ औं दिनमा भने थामिएको छ । दुई सातासम्म २७३ अंकले ओरालो लागेको बजार बिहीबार भने साढे १२ अंकले सुधारिएको हो ।

बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १२.५७ अंकले उकालो लागेर १९७८.९४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.९३ अंकले ओरालो लागेर ३८१.८३ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा बिहीबारको नेप्से ०.६४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.७७ प्रतिशतले उकालो लागेको छ ।

पछिल्लो १५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरेहेको नेप्सेले बुधबार पनि सोही गतिलाई निरन्तरता दिएको थियो । पछिल्लो १५ कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिन मात्र उकालो लागेको थियो ।

बिहीबार दिनभर २२१ कम्पनीहरुको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर २५ हजार ५८५ पटक खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३१ करोड रुपियाँले कमी हो ।

अघिल्लो दिन नेप्से ओरालो लागेपनि कारोबार रकम भने उकालो लागेको थियो । बुधबार २२९ कम्पनीहरुको ३० हजार ६०२ पटकको कारोबारमा एक अर्ब ४९ करोड १७ लाख रुपियाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर कारोबार भएको थियो ।

बिहीबार १३ करोड ८८ लाख रुपियाँको सेयर कारोबार भएर नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै रकम बराबरको सेयर कारोबार गर्नेमध्ये अगाडि देखिएको छ । एनसीसी बैंकको १० करोड ३५ लाख रुपियाँ, सिभिल बैंकको चार करोड ७१ लाख रुपियाँ र एनआइसी एशिया बैंकको तीन करोड ५७ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको १०, रिभर फल्स पावरको ९.९७ र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर क्रमश: ५४२.५०, २९०.२० र १४९० रुपियाँमा अन्तिम कारोबार भएको छ ।

चौंथो दिनको बजारमा सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य ३.८० प्रतिशतले ओरालो लागेर प्रतिकित्ता ४०५ रुपियाँमा झरेको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी उपसमूह बाहेक बाँकी सबैको सूचक  उकालो लागेको छ । अन्य उपसमूह सर्वाधिक २.५२ प्रतिशतले उकालो लागेको छ भने व्यापार १.४८ प्रतिशतले उकालो लागेको छ । यता लगानी उपसमूह ०.१ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS