उच्च गुणस्तरको प्रविधि प्रयोग गर्ने तयारीमा सहकारी

काठमाडौं । सहकारी संस्थाहरूले पनि अब उच्च गुणस्तरको प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् । नियोसिस टेक्नोलोजी प्रा.लि.ले सहकारीको लागि उच्च गुणस्तरको सफ्टवेयर निर्माण गरिरहेको छ । नियोसिस टेक्नोलोजी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब प्रा.लि.को संयुक्त लगानीमा स्थापित कम्पनी हो । यस कम्पनीले मिरा ईआरपि नामको सहकारी सफ्टवेर निमार्ण गरिरहेको प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले बताउनुभयो ।

आइतबार काठमाडौंमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको चौथो साकोस शिखर गोष्ठीमा ‘सहकारीमा प्रविधिको प्रयोग: विद्यमान चुनौति र समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले यस्तो बताउनुभएको हो ।

डा. भोजराज घिमिरे र मनोज घिमिरेले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै अब सहकारीमा प्रविधिको प्रयोग अपरिहार्य रहेको र नियोसिय कम्पनी त्यसैको लागि जन्मिएको बताउनुभयो । 

डा. घिमिरेले सहकारीमा प्रविधिको प्रयोगको अभ्यास, अन्तर्राष्ट्रिय अभ्यास, यसको आवश्यकता र वर्तमान घटनाक्रमहरुको विषयमा प्रस्तुति दिँदै सहकारीमा बैंकहरुकोभन्दा उच्च प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने बताउनुभयो ।

‘हामी बैंकको भन्दा पनि उच्च प्रविधिको प्रयोग गर्दैछौं, यसले सेवाग्राही तथा सदस्यहरुलाई सहज सेवा हुन्छ, अहिलेको जस्तो ढड्डाको प्रयोगभन्दा पनि अब डाटामा निर्धारित सेवा हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफोरमेसन र डिजिटल इन्क्लुजन आवश्यक रहेको समेत बताउनुभयो ।

घिमिरेले साझा प्लेटफर्ममार्फत् सेवा दिनु पर्ने, न्यून लागतमा अधिकतम् सेवा प्रवाह गर्नु पर्ने र प्रविधिमार्फत् स्थानीयकरण गर्नु पर्ने धारणा पनि राख्नुभयो । 

कार्यपत्रमाथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, डा. सोहनबाबु खत्रीले टीप्पणी गर्नुभएको थियो । टिप्पणीकर्ता खत्रीले अब सहकारीमा प्रविधिको आवश्यकता रहेकोले जति सक्दो छिटो सम्पूर्ण सहकारीहरुलाई डिजिटल प्लेटफर्ममा जोडिन आग्रह गर्नुभयो ।


SHARE THIS