प्रदेश नं. १ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन साढे तीन खर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष पुस मसान्तमा प्रदेश नं. १ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन साढे तीन खर्ब पुगेको छ । यो निक्षेप असारको तुलनामा पुस मसान्तमा १.४ प्रतिशतले बृद्धि भएको हो । सो अवधिमा वार्षिक विन्दुगत आधारमा कुल निक्षेपको बृद्धिदर पनि १२.३ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश नं.– १) प्रथम अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७८/७९) का अनुुसार सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोबारमा भएको बृद्धि तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिएको छ ।

गत आर्थिक वर्ष पुसको तुलनामा २०७८ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३०.१ प्रतिशतले बृद्धि भई पाँच खर्ब ४२ अर्ब पुगेको छ । २०७८ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९.६ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २६.५ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४.० प्रतिशत रहेको छ ।

गत असार मसान्तमा कृषि कर्जाको हिस्सा ९.८ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३०.६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९.७ प्रतिशत रहेको थियो । २०७८ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात १५५.२ प्रतिशत रहेको छ ।

कोभिड १९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले घोषणा गरेको विभिन्न छुट तथा सुविधा, मौद्रिक नीतिले प्रदान गरेको सुविधा, सहुलियतपूर्ण कर्जा, पुनरकर्जा सुविधा, सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, पूर्वाधारको विकास तथा विस्तार आदि कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकोले कर्जाको माग तथा प्रवाह बढेको देखिएको छ ।

गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ८.६ प्रतिशत, बचत निक्षेपको अंश ४५.७ प्रतिशत, मुद्दती निक्षेपको अंश ३९.७ प्रतिशत र अन्य निक्षेपको अंश ६.० प्रतिशत रहेको छ ।

यस्तै गत असार मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको अंश १०.८ प्रतिशत, बचत निक्षेपको अंश ४९.६ प्रतिशत, मुद्दती निक्षेपको अंश ३१.९ प्रतिशत र अन्य निक्षेपको अंश ७.७ प्रतिशत रहेको थियो ।

२०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा निक्षेपकर्ताको संख्या १४.० प्रतिशत बृद्धि भई ५४ लाख ९५ हजार पुगेको छ भने ऋणीहरुको संख्या १२.९ प्रतिशत बृद्धि भई दुुई लाख ७५ हजार पुगेको छ ।

अघिल्लो वर्ष पुसमा निक्षेपकर्ताको संख्या ४५ लाख ६५ हजार र ऋणीहरुको संख्या दुुई लाख २३ हजार रहेको थियो । २०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा विपन्न वर्ग कर्जा १६.९ प्रतिशतले बृद्धि भई ४७ अर्ब ७३ करोड पुगेको छ । २०७७ पुसमा उक्त कर्जा ३३ अर्ब आठ करोड रहेको थियो ।

गत पुस मसान्तसम्म कुल कर्जाको तुलनामा विपन्न वर्ग कर्जाको हिस्सा ८.८ प्रतिशत रहेको छ । २०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा पुनरकर्जाको बक्यौता ४६.३ प्रतिशतले बृद्धि भई १५ अर्ब १८ करोड पुगेको छ । २०७७ पुस मसान्तमा उक्त कर्जाको बक्यौता छ अर्ब ४७ करोड रहेको थियो ।

गत पुस मसान्तसम्म कुल कर्जाको तुलनामा पुनरकर्जाको हिस्सा २.८ प्रतिशत रहेको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा सहुलियतपूर्ण कर्जा २०.२ प्रतिशतले बृद्धि भई ३२ अर्ब नौ करोड पुगेको छ ।

गत आर्थिक वर्षको पुसमा उक्त कर्जा १६ अर्ब ८५ करोड रहेको थियो । २०७८ पुस मसान्तसम्म कुल कर्जाको तुलनामा सहुलियतर्पूण कर्जाको हिस्सा ५.९ प्रतिशत रहेको छ । २०७८ पुसमा प्रदेश नं. १ मा कुल एटिएम संख्या ५४९ पुगेको छ । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १५२ वटा एटिएम रहेका छन्भने खोटाङ जिल्लामा सबैभन्दा कम छ वटा एटिएम रहेका छन् ।

गत असारको तुलनामा पुससम्म यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका थप १०३ शाखा विस्तार भएका छन् । सो अवधिमा वाणिज्य बैंकका ७४९, विकास बैंकका १८५, वित्त कम्पनीका ३० तथा लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा १८१६ शाखा रहेका छन् । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी ४४२ र ताप्लेजुङमा सबैभन्दा कम ३७ शाखा रहेका छन् ।


SHARE THIS