लघुवित्तले महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको छ

काठमाडौं । नेपाल राष्ट्र बैंक कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मुख्य आधार भएको भन्दै लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको बताउनुभयो ।

सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो – “लघुवित्तले वित्तीय सेवाबाट बञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरुलाई जनाउँछ  । जसले उनीहरुलाई स्वरोजगारका अवसर विकास गर्न र विभिन्न आयआर्जन गर्ने गतिविधिहरु विस्तार गर्न मद्दत पुर्‍याउँछ ।”

लघुवित्तले महिलाहरुको आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले  “पुरुषहरुको अनुपातमा महिलाहरुको रोजगारीलगायत आयआर्जन हुने क्षेत्रमा सहभागिता कम रहेता पनि लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण विपन्न वर्गका महिलाहरुलाई उत्पादनशील क्रियाकलापमा संलग्न गराइ रोजगारी सिर्जनालगायत ग्रामीण महिलाको उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।”

औपचारीक रोजगारी वा जीविकोपार्जनका वैकल्पिक अवसरहरुको अभावले मुलुकको आर्थिक विकासमा महिलाहरुको सहभागितालाई सीमित बनाएको सन्दर्भमा लघुवित्त वित्तीय संस्थाहरुले महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागी गराउन अभिप्रेरित गर्दै आएको उहाँको भनाई छ ।

समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासको बावजूद मुलुकको कुल जनसंख्याको करिब १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको कामु गभर्नर ढुङ्गानाको भनाई छ ।

अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारीक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरुलाई गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उहाँको भनाई छ ।

नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा पनि बढी भइसकेको भन्दै उहाँले भन्नुभयो – “यसबीच गरिबी निवारणका धेरै पहल सुरु गरिएता पनि लघुवित्त कार्यक्रम मात्र गरिबी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ ।”

कामु  गभर्नर तिम्सिनाले लघुवित्त वित्तीय संस्थाहरुको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको संख्या ४९८५ रहेको जानकारी गराउँदै २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको कुल सदस्य संख्या ५६ लाख २२ हजार रहेको र त्यसमध्ये पुरुषको संख्या एक लाख ५१ हजारमात्र रहेको  बताउनुभयो ।

महिलाको संख्या भने ५४ लाख ७१ हजार रहेको बताउँदै उहाँले भन्नुभयो – “लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने सदस्यको संख्या ३१ लाख ७१ हजार रहेको छ, जस अन्तरगत पुरुषको संख्या ८३ हजार छ भने महिलाको संख्या ३० लाख ८८ हजार रहेको छ ।”

यद्यपी महिलाहरुसँग सम्पत्तिको स्वामित्वको कमी भएकाले महिलाद्वारा विभिन्न व्यवसाय थालनी गर्दा आवश्यक हुने कर्जाको धितोसमेतको अभाव भएको देखिएको उहाँले बताउनुभयो । कुल पुरुषको जनसंख्यामध्ये ५६ प्रतिशत पुरुषहरुको वित्तमा पहुँच रहेको भन्दै उहाँले महिलाहरुको कुल जनसंख्यामध्ये मात्र ३६ प्रतिशत पहुँच रहेको बताउनुभयो ।  आर्थिक स्रोतमाथि महिलाको पहुँच र नियन्त्रण पनि निकै कम भएको अवस्था रहेको उहाँको भनाई थियो ।

आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकाले  लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्नेमा जोड दिनुभयो । एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाई गर्नुपर्ने उहाँले बताउनुभयो । “नाफा कमाउने होडमा लघुवित्त संस्थाहरु लागेको देखिन्छ । यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ । तर, त्यो लघुवित्तको साथर्ककता होइन । लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ । २२/२४ वटा संस्थाबाट समेत कर्जा लिएको पाइएको छु । त्यसैले संख्यात्मक बृद्धि गर्न सदस्य खोसाखोस नगरौं ।”

स्वाबलम्बन विकास केन्द्रको संयोजनमा मङ्गलबारसम्म चल्ने सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका दुई सय वटा संस्थाहरुबाट छ सय जना सदस्य तथा संस्था प्रतिनिधिहरुको सहभागीता रहेको छ ।


SHARE THIS