"गठबन्धन सरकारले आर्थिक अध्यादेशमाथि खेलवाड गर्‍यो, अघिल्लो सरकारको लोकप्रिय कार्यक्रम खारेज गर्‍यो" - एमाले



ललितपुर । नेपाल कम्पुनिष्ट पार्टी एमालेका पूर्व अर्थमन्त्रीहरुले गठबन्धन सरकार बन्नासाथ मुलुकको आर्थिक गडबडी शुरु भएको बताएका छन् । एमालेकातर्फबाट विभिन्न समयमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलनमार्फत गठबन्धन सरकारले आर्थिक अध्यादेशमाथि खेलवाड गरेको, अघिल्लो सरकारको लोकप्रिय कार्यक्रम खारेज गरेको, स्वार्थसिद्घितिरमात्रै ध्यान दिएको, संसदबाट एमसीसी अनुमोदन गराउँदा अनौठो तमासा देखाएको, अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा सरकार सञ्चो मानेर बसेको बताएका हुन् ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिङ–१९ को असरका बीचमा पनि गत वर्षको सात महिनामा  ११ प्रतिशतले बृद्धि भएको रेमिट्यान्स यो वर्ष पाँच प्रतिशतले घट्नुले हुण्डी मौलाएको पुष्टि भएको बताउनुभयो ।

व्यापारमा विचलन बढ्दै गएको भन्दै सरकारकै संरक्षणमा हुण्डी फस्टाएको उहाँको दाबी थियो । विदेशी मुद्रा सटहीमा अनौपचारिक क्षेत्रमा चलेको बट्टादरबाट अनौपचारिक ब्याज फस्टाएको प्रष्ट हुने  भन्दै उहाँले वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्ला आठ महिनामा ह्वात्तै बढे पनि रेमिट्यान्स  आप्रवाह घट्नुको कारण हुण्डी मौलाउनु भएको बताउनुभयो ।

सरकार औपचारिक व्यापार बढाउनभन्दा अनधिकृत व्यापार–व्यवसायलाई प्रोत्साहन दिँदै देशको बाह्य क्षेत्र कारोबारलाई ध्वस्त पार्न उद्दत भएको उहाँको आरोप थियो ।

अघिल्लो वर्षको भन्दा सयौं गुणा बढी सुपारी, केराउ, सुन, चाँदी जस्ता वस्तु आयात गरी अवैध व्यापार गराउने ध्येय सरकारले राखेको पूर्व अर्थमन्त्री खतिवडाले व्यवसायिक क्षेत्रको सरकारमाथि विश्वास गुम्दै गएको बताउनुभयो । बजेटलाई दुरूपयोग गरी निहित स्वार्थ केन्द्रित नीतिगत भ्रष्टाचार गरिएको भन्दै उहाँले प्रतिस्थापन विधेयक मार्फत् बजेटमा गडबडी गरिएको पनि बताउनुभयो ।

अहिले सर्वत्र निराशा फैलिँदै देशले श्रीलंकाको बाटो समातेको त होइन भन्ने सन्त्रास फैलिएको भन्दै उहाँले सम्पूर्ण निजी क्षेत्र र विकासका सबै साझेदारहरूलाई विश्वासमा लिदै संकटोन्मुख आर्थिक अवस्थालाई सामान्य अवस्थामा ल्याउन यो सरकार पूर्णत: असफल भएको उहाँले बताउनुभयो ।

अर्का पूर्व अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकारलाई सबल आर्थिक अवस्थामा छोडेको भन्दै सुरुका तीन वर्षमा सात प्रतिशतसम्म आर्थिक बृद्धि भएको बताउनुभयो । त्यतिबेला सरकारी वित्त सन्तुलित अवस्थामा रहेको र तरलताको अवस्था पनि नभएको भन्दै एमालेले सरकार छाडने बेलामा सबल र सुदृढ छोडेको बताउनुभयो । कोभिडको सामना गरेर पनि मुलुकको आर्थिक अवस्थामा प्रभाव पर्न नदिएको उहाँको दाबी थियो ।

देशको अर्थ व्यवस्था जोखिम अवस्थामा रहेको भन्दै पूर्व अर्थमन्त्री पौडेलले भन्नुभयो – ‘मुलुकको अर्थव्यवस्था जोखिम अवस्थामा छ । सार्थक हस्तक्षेप गरेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन । संकट उन्मुख अवस्थाबाट बाहिर निकाल्न काम नगर्ने तर दाबी श्रीलंकाबाट हुनबाट जोगाउने छु भन्ने छ ।’

गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा आपत्ति जनाउँदै उहाँले सरकारका गलत कामको साथ नदिएका कारण अधिकारीलाई हटाइएको आरोप लगानउभयो । निलम्बित गभर्नर अधिकारीलाई पुन: बहाल गर्न माग गर्दै उहाँले गभर्नरलाई पुन: बहाल नगरिए देशको आर्थिक अवस्था थप संकटपूर्ण हुने बताउनुभयो ।

सरकारले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको अंगको रुपमा सञ्चालन गर्ने प्रयास गरेको भन्दै सरकारले पूर्ववर्ती सरकारका काम निरन्तरता दिन नचाहेको बताउनुभयो ।

अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यवसायिक रूपमा दक्ष र इमानदार राष्ट्रसेवकहरू यो सरकारका कोपभाजन भएका दर्जनौं घटनाहरू भएको भन्दै गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रूप देखाएको उनीहरुको भनाई छ ।


SHARE THIS