पाँच महिनापछि नेपाल धितोपत्र बोर्डले पायो नयाँ अध्यक्ष

काठमाडौँ । झण्डै पाँच महिना रिक्त रहेको नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ । बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको वैठकले हमाललाई बोर्ड अध्यक्षको जिम्मेवारी दिएको हो ।

बोर्डको अध्यक्ष पदका लागि दोस्रोपल्ट मागिएको दाबेदारीमा १५ जनाले आवेदन दिएकामध्ये सिफारीस तथा छनौट समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुमध्ये कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमालका साथै कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारीस गरेको थियो । छनोट समितिका सदस्यहरुमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष जीवनाथ धिताल रहनुभएको थियो ।

इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी, रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव छ । हमाल लामो समय थाइल्याण्ड लगायतका देशमा बस्दै आउनुभएको थियो । पछिल्लो करिब तनि वर्षदेखि नेपालमा उहाँको नियमित बसाइ छ ।

सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेपछि छ महिनादेखि सो पद खाली रहेको थियो । नेपालको सेयर बजारको इतिहासमा पहिलो पटक बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर जारी गर्न लागेको सर्बोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाले परिवारका सदस्यको नाममा खरिद गरेको खुलासा भएपछि विवादमा आएका उहाँलाई बर्खास्त गरिएको थियो ।


SHARE THIS