नेप्सेमा ८८.७० अंकको गिरावट आउँदा झण्डै ११ महिनायताकै न्यून विन्दुमा पुग्यो सेयर बजार

गीता पौडेल

काठमाडौं । एक वर्ष अगाडि उच्च विन्दुमा पुगेर कारोबार भएको सेयर बजार अहिले भने न्यूनतम विन्दुमा पुगेर कारोबार भएको छ । पछिल्ला दिनमा निरन्तर गिरावटको बाटोमा लागेको सेयर बजार ११ महिनायताकै न्यून विन्दुमा पुगेर कारोबार भएको छ । अघिल्लो साता ओरालो लागेरै बन्द भएको बजार यो साताको पहिलो दिन २३ सयको विन्दुमा आइपुगेको हो ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक ८८.७० अंकले ओरालो लागेर २३६१.२७ को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १५.१५ अंकले ओरालो लागेर ४५०.०८ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा पहिलो दिनको नेप्से ३.६२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ३.२६ प्रतिशतले ओरालो लागेको छ ।

अघिल्लो साताको अन्तिम दिन सेयर बजार ओरालै लागेर बन्द भएको थियो । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ५.८४ अंकले ओरालो लागेर २४४९.९७ को विन्दुमा पुगेर अडिएको थियो । सेन्सेटिभ इन्डेक्स भने ०.४३ अंकले उकालो लागेर ४६५.२३ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से ०.२४ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स भने ०.०९ प्रतिशतले उकालो लागेको थियो ।

आइतबार दिनभर २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर ५१ हजार ८४४ पटक खरिदबिक्री हुँदा तीन अर्ब ३८ करोड २५ लाख नौ हजार ५२० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७१ करोडले बढी हो । बिहीबार दिनभर २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर ४१ हजार ३८९ पटक खरिदबिक्री हुँदा दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार १९ करोड ७७ लाख ४० हजार रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले बम्पर लाभांश घोषणा गरेपछि  कारोबार रकम बढेको हो । यसैगरी, आइतबार नेशनल हाइड्रोपावर र नबिल बैंकको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

आइतबार युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तको सेयरमूल्य दुई प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य १.४६ प्रतिशत बढेको छ । मञ्जुश्री फाइनान्सको १.१५ प्रतिशत बढेको छ ।

नयाँ सारथी लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेका छ भने लक्ष्मी इक्विटी फण्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले घटेको छ ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.४५ प्रतिशतले ओरालो लागेको पहिलो दिन विकास बैंकको परिसूचक ६.४१ प्रतिशत घटेको छ भने जलविद्युत, वित्त, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक चार प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । यस्तै उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रचण्डको भाषणले थप्यो निराशा

‘ओरालो लागेको बाछोलाई मृगले पनि खेद्छ’ भन्ने उखान जस्तै बनेको छ सेयर बजारको हालत । यसै त ओरालो लागिरहेको सेयर बजार पूर्व प्रधानमन्त्री अध्यक्ष प्रचण्डले पनि सेयर बजारप्रति लक्षित गर्दै नकारात्मक अभिव्यक्ति दिएपछि झनै पहिरो गएको विश्लेषण गर्न थालिएको छ । पहिले पहिले पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पूँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको उहाँले बताउनुभएको थियो ।

शनिबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाललगायत विश्वभर नै पूँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बंैकहरुमा हुने गरेको भन्दै पूँजीको लगानी पूँजीमा हुनु साम्राज्यवादको विकसित हुनु भएको बताउनुभएको थियो । उद्योग र उत्पादन क्षेत्रमा पूँजीको लगानी नहुनु नै वित्तीय पूँजीवादको विषेशता भएको भन्दै उहाँले भन्नुभयो – ‘अहिले धितोपत्र बोर्ड, सटा बजार, आई एम एफ, विश्व बैंक, एसियाली बैंकलगायतमा लगानी हुन्छ । हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं । तर, त्यस्तो होइन् । यसरी सेयर बजारमा लगानी गर्नु साम्राज्यवादका विकसित रुप हुन् ।’

औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पूँजीको लगानी पूँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भन्दै उहाँले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको दोहोर्‍याउनुभएको थियो ।

पूँजीबजारमा लगानीको विकास र विस्तारलाई परास्त गर्नु सक्नुपर्ने भन्दै पूँजीबजारबाट पूँजीपतिहरुले सिधै पूँजीबाट पुँजी लिने गरेको प्रर्व प्रधानमन्त्रीको भनाई थियो । ‘बैंकहरुले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन् । घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ । थोरै लगानीमा छोटो समयमा अर्बौ कमाउने गरेका छन् । अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ ।’ – उहाँले भन्नुभयो । विश्वभर नै यो क्षेत्रमा पूँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्लेषण गर्नु जरुरी भएको भन्दै यस प्रकारमा विकृतीको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादीमा आएको उहाँको भनाई थियो ।

प्रचण्डको लामो भाषणको धेरै अंश सेयर बजारको विषयमा खर्चिएको थियो । जुन सेयर लगानीकर्ताहरुका लागि पीडादायी बनेको छ ।


SHARE THIS