नेपाल नविकरणीय उर्जा परिसंघले घरेलु महासंघको सदस्यता लिँदै

काठमाडौं । नेपाल नविकरणीय उर्जा परिसंघले नेपाल घरेलु तथा साना उद्योग महासंघको सदस्यता लिने भएको छ ।

परिसंघले महासंघको सदस्यता लिने सम्बन्धी राजधानीमा एक कार्यक्रममा परिसंघ र महासंघबीच सम्झौता भएको छ ।

सम्झौतापछि महासंघको आगामी पौष २२, २३ र २४ गते हुने राष्ट्रिय महाधिवेशनबाट लागु हुने गरी महासंघको विधानमा व्यवस्था गरिएको नवीकरणीय उर्जा निर्वाचन क्षेत्रको व्यवस्था कार्यान्वयन गरिने भएको छ ।

यस सम्बन्धमा परिसंघ, परिसंघ अन्तरगतका आठ वटै संघहरु र यी संघका सदस्य नवीकरणीय उर्जा संघ सम्बन्धित सबै ५४० वटै कम्पनी तथा फर्महरुले आगामी मङ्सिर मसान्तसम्ममा महासंघको सदस्यता लिई सक्ने सम्बन्धमा महासंघ र परिसंघबीच सहमती पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा महासंघको तर्फबाट अध्यक्ष श्याम प्र. गिरी र परिसंघको तर्फबाट अध्यक्ष गुणराज ढकालले हस्ताक्षर गर्नुभयो ।

यस अघि महासंघको राजधानीमा बसेको केन्द्रिय कार्यसमितिको ११ औं बैठकले महाधिवेशनका लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले  परिसंघलाई सदस्यता दिने सन्दर्भमा प्रक्रिया अगाडि बढाएको थियो ।

परिसंघ नेपालमा नवीकरण उर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।


SHARE THIS