घट्दै रेमिट्यान्स, भदौमा ६.३ प्रतिशतले कमी

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशतले कमी आएर १५५ अर्ब ३७ करोड रुपियाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । पछिल्लो समय मुलुकमा रेमिट्यान्स आप्रवाह घटिरहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको तथ्याङ्कमा आधारीत नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले कमी आएर एक अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बृद्धि भई ३८,४९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा बृद्धि भई २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ६.४ प्रतिशतले कमी आई १७१ अर्ब ९२ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले बढेको थियो ।

चालु खाता घाटामा

समीक्षा अवधिमा चालु खाता १०६ अर्ब ७५ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९० करोड १५ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई रु.१ अर्ब २५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई रु.३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ४४ करोड रहेको थियो ।

सोही अवधिमा शोधनान्तर स्थिति रु.८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।


SHARE THIS