अस्वस्थ प्रतिस्पर्धा हुन नदिन न्यूनतम प्रिमियम दर : बीमा समिति

काठमाडौं । मुलुकमा व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन गैरमहशूल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकेको बीमा समितिले स्पष्टपारेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले ‘निर्जीवन बीमाको प्रिमियम बृद्धि गरी न्यूनतम सिमा तोकिएकोमा महासङ्घद्वारा बीमा समितिको गम्भीर ध्यानाकर्षण’ शीर्षकमा जारी गरेको प्रेस विज्ञप्तीप्रति समितिले  गम्भीर ध्यानाकर्षण गर्दै यस्तो जनाएको हो ।

निर्जीवन बीमा अन्तर्गत अग्नी, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम प्रिमियम दर कायम गर्न पटक पटक बीमा समितिसमक्ष आग्रह गर्दै आएको समितिले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यसरी कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्ने गरेका र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएकाले न्यूनतम प्रिमियम दर तोक्नु परेको समितिले जनाएको छ ।

जीवन बीमा वा निर्जीवन बीमा जुन गरे पनि बीमितको बीमा रकम सुरक्षित रहनुपर्दछ र बीमा कम्पनीहरुसँग भएका सम्झौता अनुसार बीमितले समयमा नै दाबी भुक्तानी पाउनुपर्दछ भन्नेमा जोड दिँदै आएको जनाउँदै समितिले सोही अनुसार बीमा कम्पनीहरुलाई निर्देशन दिने काम समेत हँुदै आएको जनाएको छ ।

नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाले अन्तर्राष्ट्रियरुपमा समेत मान्यता पाउने खालको हुनुपर्ने  आवश्यकता औंल्याउँदै समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘यसो भएमा नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाको पुनर्बीमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुमा समेत हुने र बीमा कम्पनीहरुसँग भएको सम्झौता अनुसार बीमितले समयमै दाबी भुक्तानी पाउने अवस्था रहन्छ ।’

मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शीरुपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रका तर्फबाट गर्नुपर्ने योगदान गर्न सदैव तत्पर रहेको भन्दै समितिले न्यूनतम प्रिमियम दर लगायत बीमा क्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजीक्षेत्रबाट प्राप्त हुने सुझावहरुलाई  सकारात्मक रुपमा लिने जनाएको छ ।

साथै, बीमा क्षेत्रमा विद्यमान समस्याहरुको समाधान गर्दै नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिस्तको तुल्याउने कार्यमा निजीक्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने हुनाले यसका लागि सहकार्य गर्न समिति नेपाल उद्योग वाणिज्य महासङ्घसँग समितिले आग्रह समेत गरेको छ ।


SHARE THIS