एनआरएनए नेतृत्वका लागि कुल आचार्यको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

राजधानीमा पत्रकार सम्मेलनमार्फत आचार्यले असोज २८ देखि ३० मा काठमाडौंमा हुने महाधिवेशनका लागि अध्यक्षका रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पर्वतको जलजला गाउँपालिका-७ धाइरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । सन् २००३ देखि गैरआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनिसक्नुभएको छ ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७/१९ मा संघको उपाध्यक्ष बन्नुभएका आचार्यले प्रवासीलाई जन्मथलो र गाउँसँग जोड्ने, गैरआवासीय नागरिकताको व्यवस्था, दोहोरो श्रम स्वीकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामूलक बनाउने मुद्दालाई अघि सार्नुभएको छ ।


SHARE THIS