काठमाडौं । जलविद्युत आयोजना, कृषि र पर्यटन गण्डकी प्रदेशमा उच्च सम्भावना रहेको देखिएको छ ।
स–साना आयोजनादेखि १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रियामा रहेको गण्डकी प्रदेशमा जलविद्युत उत्पादनको उच्च सम्भावना रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालय अनुसन्धान इकाइद्घारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ मा आधारीत गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध–वार्षिक प्रतिवेदनमा यस्तो सम्भावना देखिएको हो ।
अन्य धेरै आयोजना निर्माणाधीन अवस्थामा पनि रहेको सो क्षेत्रमा सप्तगण्डकीका सहायक नदीहरुमा अन्य जलविद्युत आयोजनाहरु सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । पर्यटन क्षेत्र आर्थिक मेरुदण्ड रहँदै आएको सो क्षेत्रमा पर्यटकीय पूर्वाधार र केबुलकारको उच्च सम्भावना रहेको छ ।
उत्तर दक्षिण लोकमार्गको रुपमा रहेको कालीगण्डकी करिडोरले गण्डकी प्रदेशलाई उत्तरमा कोरला नाकामार्फत चीनसँग र दक्षिणमा त्रिवेणी नाकामार्फत भारतसँग अन्तर्राष्ट्रिय व्यापारको ढोका खोलिदिने भएकोले यसको निर्माण सम्पन्न भएपश्चात् सो प्रदेशको वैदेशिक व्यापारमा ठूलो टेवा पुग्ने सम्भावना रहेको छ ।
पृथ्वी राजमार्गको मुग्लिङ्ग–पोखरा खण्डलाई चार लेनमा स्तरोन्नति गर्न एशियाली विकास बैंकसँग ऋण सम्झौता अनुुसार कार्य सम्पन्न भएपछि सो क्षेत्रको समग्र विकासमा थप सहयोग पुग्ने अध्ययनले देखाएको छ ।
गण्डकी प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरव तथा अन्य परियोजनाहरुको हालसम्मको भौतिक प्रगति उल्लेख्य देखिएको र रोजगारीमा पनि बढोत्तरी हुने देखिएको हुँदा तोकिएको समयमा सम्पन्न गर्न सकेको खण्डमा राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य बृद्धि हुने सम्भावना रहेको छ ।
सडक, सिँचाई, खानेपानी र सञ्चार लगायतका पूर्वाधार निर्माण सम्बन्धी कार्यहरुमा विभिन्न सरोकारवाला निकायहरुबीच आपसी समन्वयको अभावमा निर्माण खर्चमा दोहोरोपना आउने गरेको तथा व्यवस्थित अभिलेख समेत नरहने हुँदा मितव्ययिता अपनाउने कार्यमा चुनौती सिर्जना भएको अध्ययनमा उल्लेख छ ।
पूर्वाधार क्षेत्रका आयोजनाहरु निर्माणको क्रममा घर/जग्गा मुआब्जा सम्बन्धी विवादको शीघ्र समाधान र स्थानीयहरुबाट हुने विभिन्न किसिमका मागहरुको सम्बोधन गर्न विलम्ब हुने कारणले आयोजना समयमै सम्पन्न हुन नसक्ने तथा लागतमा बृद्धि हुने चुनौती रहेको देखिएको छ ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड—१९ को संक्रमण दरको जोखिम अझै पनि उच्च रहेको हुँदा राष्ट्रिय गौरवका आयोजना तथा पूर्वाधारको क्षेत्रमा आवश्यक कामदार, विशेषज्ञहरुको उपलब्धता नहुनु साथै आवश्यक कच्चा पदार्थ, मेसिन र उपकरणको सहज आपूर्ति नहुनु, विस्फोटक पद्धार्थ समयमा आउन नसक्नु जस्ता समस्याहरु रहेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ ।
प्रतिवेदनका अनुुसार आर्थिक वर्ष २०७७/७८ को छ महिनामा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरु (कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत र नवलपरासी (पूर्व) प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल दुुई प्रतिशतले बृद्धि भएको छ ।
धान, मकै र आलु बालीले ढाकेको क्षेत्रफलमा क्रमश: ०.२५ प्रतिशत, ०.२९ प्रतिशत र १९.६६ प्रतिशतले बृद्धि भएको छ । तेलहनले ढाकेको क्षेत्रफल १.३६ प्रतिशतले बृद्धि भएको छ भने दलहनले ढाकेको क्षेत्रफल १.९३ प्रतिशतले घटेको छ ।
स्याउ खेती गरिएको क्षेत्रफल १८.९२ प्रतिशत, केरा खेती गरिएको क्षेत्रफल ५.९६ प्रतिशत तथा सुन्तला खेती गरिएको क्षेत्रफल ५.४० प्रतिशतले बृद्धि भएको छ । समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.७९ प्रतिशतले बृद्धि भएको छ । आलुको उत्पादन २८.५५ प्रतिशत, कोदोको उत्पादन ४.६० प्रतिशत र मकैको उत्पादन १.३० प्रतिशतले बृद्धि भएको छ ।
तरकारी तथा बागवानी तर्फको उत्पादन १४.८२ र फलफूल तथा मसला बालीको उत्पादन भने ९.७३ प्रतिशतले बृद्धि भएको छ । पशुजन्य उत्पादनतर्पm; दूध उत्पादन २.७० प्रतिशतले, मासुको उत्पादन ४.५५ प्रतिशतले र माछाको उत्पादन १२.१९ प्रतिशतले बृद्धि भएको छ । वनजन्य उत्पादनतर्पm काठको उत्पादन भने ५१.४५ प्रतिशतले घटेको छ ।
२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कृषि, वन र माछापालन क्षेत्रमा २१ अर्ब ७० करोड रुपियाँको कर्जा लगानी रहेको छ, जुन कुल कर्जा वक्यौताको ७.८४ प्रतिशत हो । समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ५६.२३ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनतर्पm समीक्षा अवधिमा तोरीको तेल, विस्कुट, चकलेट, चाउचाउ र ईटाकोउत्पादनमा वृद्धि भएको छ भने प्रशोधित दूध, वियर,चुरोट तथा सिमेन्टको उत्पादनमा ह्रास आएको छ ।
२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोऔद्योगिक क्षेत्रमा ५८ अर्ब ५५ करोड रुपियाँको कर्जा लगानी रहेको छ जुन कुल कर्जा वक्यौताको २१.१६ प्रतिशत हो । बैंक तथा वित्तीय संस्थाहरुबाट संकलित कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा १२.०२ प्रतिशतले बृद्धि भई तीन खर्ब ३६ अर्ब ५९ करोड रुपियाँ पुगेको छ ।
त्यसैगरी, कुल कर्जा प्रवाह ११.८९ प्रतिशतले बृद्धि भइ दुई खर्ब ७६ अर्ब ७३ करोड पुगेको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति करिब ७० प्रतिशत र उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी कोरिडोर) को कार्य प्रगति करिव ४२ प्रतिशत रहेको छ ।
मध्य पहाडी लोकमार्गको गोरखा–लमजुङ खण्डकोकरिब १११ कि.मि.मध्ये २५ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको करिब २४५ कि.मि. मध्ये ६० प्रतिशत कार्य सम्पन्न भएको देखिन्छ ।