साउन लागेदेखि वाणिज्य बैंकहरुबाट आधा खर्ब बढी निक्षेप बाहिरियो


काठमाडौं । साउन महिना लागेयता वाणिज्य बैंकहरुबाट आधा खर्ब बढी निक्षेप बाहिरिएको छ । वाणिज्य बैंकहरुबाट पहिलो पटक ठूलो मात्रमा निक्षेप घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको २२ गतेसम्ममा वाणिज्य बैंकहरुको ६१ अर्ब रुपियाँ निक्षेप घटेको छ । सोही अवधिमा वाणिज्य बैंकहरुले जम्मा ११ अर्ब मात्र कर्जा विस्तार गरेका छन् ।

चालु आवको पहिलो महिना साउनको पहिलो हप्तामा ४३ अर्ब, दोस्रोमा छ अर्ब तथा तेस्रो सातामा १२ अर्ब गरी कुल ६१ अर्ब निक्षेप घटेको हो ।

साउनको पहिलो साता बैंकहरुको कर्जा पनि १५ अर्बले घटेको थियो । तर, दोस्रो र तेस्रो सातमा क्रमश १० र १६ अर्ब कर्जा परिचालन गरेका छन् । साउनको तेस्रो सातासम्म अर्थात २२ गतेसम्म बैंकहरुको कर्जा ११ अर्बले कर्जा घटेको छ ।

साउन २२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३७ खर्ब ३२ अर्ब कर्जा लगानी गरेका छन् । गत असारमसान्तको अन्त्यसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेर ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका थिए ।

विगतका वर्षहरुमा पनि साउन महिनामा निक्षेप घट्ने भएपनि यो वर्ष अत्याधिक घटेको नेपाल बैकर्स संघले जनाएको छ ।

गत आवको अन्तिम महिना असारमा वाणिज्य बैंकहरुले दुई खर्ब ११ अर्ब निक्षेप संकलन गरेर ७० अर्ब कर्जा परिचालन गरेका थिए । गत आवमा बैंकहरुमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को थियो भने असोज, पुस, चैत र असारमै कर्जा प्रवाह बढेको थियो ।

कोरोना कहरका कारण आर्थिक गतिविधि सहज नभएपनि गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले उल्लेखीय रुपमा कर्जा विस्तार गरेका थिए । वर्षभरीमा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा एक खर्ब बढी कर्जा प्रवाह गरेका थिए ।

गत आर्थिक वर्षभरीमा वाणिज्य बैंकहरुमा सात खर्ब १४ अर्ब निक्षेप थपिएको थियो भने आठ खर्ब १८ अर्बले कर्जा बढेको थियो। एकवर्षको अवधिमा बैंकहरुले निक्षेप भन्दा एक खर्ब चार अर्ब बढी कर्जा प्रवाह गरेका थिए ।

संघका अनुसार गत असार मसान्त सम्ममा वाणिज्य बैकहरुले ४२ खर्ब एक अर्ब निक्षेप संकलन गरेर ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका छन् । अघिल्लो वर्षको असार मसान्त सम्ममा बैंकहरुले ३४ खर्ब ८७ अर्ब निक्षेप उठाएर २९ खर्ब तीन अर्ब कर्जा परिचालन गरेका थिए ।


SHARE THIS