सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा, नेप्से ३१६० को विन्दुमाथि, कारोबार पनि १८ अर्ब नजिक

काठमाडौं । सेयर बजारले अहिलेसम्मकै उच्च विन्दु अर्थात ३१६० को विन्दुमाथि लागेको छ । सरकारले सार्वजानिक गरेको श्वेतपत्रमा पूँजीबजारका पनि केही कुरा समेटिएपछि पूँजी बजार  ५१ अंकले सुधारिएको हो ।

साताको तेस्रो कारोबारी दिन सेयर बजार मापक नेप्से परिसूचक ५१.८६ अंकले उकालो लागेर ३१६१.४४ को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले उकालो लागेर ५८७.९५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा सेयर मङ्गलबारको सेयर बजार १.६७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.०८ प्रतिशतले उकालो लागेको छ ।

मङ्गलबार बजार खुल्दा कम पूँजी भएका फाइनान्स र विकास बैंकको सेयरमूल्य उच्च बढेकोमा उत्तरार्धमा बैकिङ क्षेत्रमा लगानीकर्ता मोडिएका थिए । जलविद्युतबाट नाफा सुरक्षित गरेका लगानीकर्ताको लगानी बैंकमा बढेको हो ।

नेप्से परिसूचकलाई साथ दिंदै मङ्गलबार कारोबार रकम समेत १८ अर्बको हाराहारीमा पुगेको छ । तेस्रो दिन २२५ कम्पनीहरुको तीन करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर एक लाख ६३ हजार ९६९ पटक खरिरदबिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपियाँ बराबरको सेयरर कारोबार भएको छ ।

मङगलबार ८९ करोड ५८ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर अपर तामाकोशी हाइड्रोपावर सबैभन्दा धेरै सेयर कारोबार गर्नेमध्ये अग्रपँक्तिमा परेको छ । अरुण भ्याली हाइड्रोपावरको ५३ करोड ७ लाख, अपि पावरको ५१ करोड ९२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४८ करोड ८४ लाख र अरुण कावेली हाइड्रोपावरको ४१ करोड ५२ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो दिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचकमध्ये १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी तीन उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

तेस्रो दिन विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकमा समेत आकर्षक बृद्धि देखिएको हो । हाइड्रोपावर क्षेत्रमा केही करेक्सन देखिएको मङ्गलबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ८.०७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको सूचक पनि ६.७८ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसमूहको सूचक भने ०.०७ प्रतिशतले घटेको छ ।

उच्च रुपले सेयरमूल्य बढ्ने कम्पनीहरुमा अधिकाश फाइनान्स र विकास बैंक रहेको तेस्रो दिन बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्सलगायतका कम्पनीको सेयरमूल्य उच्च रुपले बढेको छ ।

शेयरमूल्य घट्ने कम्पनीमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन् । तेस्रो दिन साञ्जेन जलविद्युतको सेयरमूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेको छ भने सिनर्जी पावरको ४.७१ प्रतिशत, खानीखोला हाइड्रोपावरको ४.२५ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ४.११ प्रतिशत र घलेम्दी हाइड्रोको ४.०२ प्रतिशतले घटेको छ ।

सरकारले सार्वजानिक गरेको श्वेतपत्रमा पूँजीबजारका पनि केही कुराहरु समेटिएको छ । पुँजी बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश एवम् वित्तीय स्रोतको सहज उपलब्धता लगायतका कुरा श्वेतपत्रमा समेटिएको छ ।

पुँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पुँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो स्वेतपत्रमा औंल्याइएको छ ।

लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई, पूँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही वनाउनुपर्ने तथा पुँजी बजारमा स्वचालित प्रणाली प्रवद्र्घधन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने आवश्यकता रहेको श्वेतपत्रमा उल्लेख छ ।


SHARE THIS