बीमा संस्थानको प्रिमियम अब डिजिटल भुक्तानीबाटै तिर्न सकिने

काठमाडौं । नेपालको जेठो र सरकारी स्वामित्वको जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थान पनि अब डिजिटल भुक्तानीमा प्रवेश गरेको छ ।

डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानी सम्बन्धी सम्झौताअनुसार अब बीमा संस्थानमा बीमाशुल्क कनेक्ट आईपीएसबाटै तिर्न सकिने भएको छ ।

सस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईयो) निलेशमानसिंह प्रधानले बुधबार आयोजित एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ गर्नुभयो । डिजिटल भुक्तानी सेवा शुभारम्भ गर्दै प्रशासक पाठकले आफ्नो ७५ हजार पाँच सय ९५ रूपियाँ बराबरको बीमाशुल्क कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्नुभयो ।

कनेक्ट आईपीएससँग सहकार्यका लागि केही दिनअघि समझदारी भएको जानकारी दिँदै औपचारिक सेवा शुभारम्भ बुधबारदेखि गरिएको बताउनुभयो । विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेको संस्थान अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको भन्दै उहाँले भन्नुभयो – ‘नेपालको पुरानो बीमा कम्पनी भए पनि संस्थानले प्राविधिक हिसाबले आफूलाई कान्छो कम्पनी भन्नुपर्ने बाध्यता रहेको थियो । आगामी दिनमा बीमाशुल्क बुझाउन लाइन बस्नुपर्ने झन्झटबाट बीमित मुक्त भएका छन् ।’

क्लियरिङ हाउसका सीईओ प्रधानले पोलिसी नम्बर र बीमितको जन्म मिति राखेर कनेक्ट आईपीएसमार्फत बीमाशुल्क बुझाउन सकिने बताउनुभयो । व्यक्तिको जन्म मिति र पोलिसि नम्बर राख्दा त्यसले बीमितलाई सुरक्षा समेत प्रदान गर्ने उहाँको भनाई छ ।


SHARE THIS