अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र मोबाइल वालेट इसेवाबीच सम्झौता

काठमाडौँ । नेपालको अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र मोबाइल वालेट इसेवाबीच सहकार्य हुने भएको छ ।

सहकार्यसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । आइतबार एक कार्यक्रमकाबीच फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो ।

सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुविधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । फुडमाण्डूमा हुने अर्डरहरुमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ म्यानेजर श्यामरत्न मालीले बताउनुभयो ।

अहिले ३० प्रतिशत भन्दा धेरै अनलाइन पेमेन्ट भईरहेकोमा ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ बृद्धि हुने अपेक्षा गरिएको छ । यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिने अपेक्षा कम्पनीको छ ।

इसेवाको बृहत नेटवर्कमा भएका ग्राहकहरुले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्ने भएका छन् । साथै यो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ ।

इसेवाका बिजिनेस डिभेलपमेन्ट हेड, अशिष प्रसाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने अपेक्षा गर्नुभयो । कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा फुडमाण्डुसँग इसेवा जोडिन पाउँदा खुशी भएको उहाँले बताउनुभयो । यसले डिजिटल अभियानलाई सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ । यसै अवसर पारेर फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा ३०० रुपियाँसम्मको छुट दिने घोषणा गरेको छ ।


SHARE THIS