पुनर्बीमा ब्रोकर कम्पनी खोल्न बाटो खुल्यो, जारी भयो निर्देशिका

काठमाडौं । पुनर्बीमा ब्रोकर कम्पनी नेपालमा पनि खोल्न सकिने भएको छ । बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) स्थापनाका लागि पुनर्बीमा ब्रोकर सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको छ ।

समितिले पुनर्बीमा दलालको पूँजी निर्धारण गरी दर्ता तथा नियमनको व्यवस्था मिलाई पुनर्बीमा बजारको विकास गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ अनुसार निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार पुनर्बीमा दलालको अधिकृत पूँजी न्यूनतम १० अर्ब रुपियाँ हुनुपर्नेछ । पूँजी मध्येबाट अधिकृत पूँजीको २५ प्रतिशत रकम बीमा समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै अधिकृत पूँजी तथा चुक्ता पूँजी सम्बन्धी अन्य व्यवस्था समितिले समय समयमा तोकिए बमोजिम हुने उल्लेख छ ।

निर्देशिक अनुसार पुनर्बीमा ब्रोकरले बीमकले जारी गरेको बीमालेख अन्तरगत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमक (पुनर्बीमित) को तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा÷पुनर्बीमा बजारको तथ्याङ्क विश्लेषण गरी पुनर्बीमित र पुनर्बीमकलाई उपलब्ध गराउनुपर्नेछ ।

यस्तै पुनर्बीमा दाबी भुक्तानीमा सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, पुनर्बीमा सम्झौता अनुरुपको लिने दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने लगायतको काम गर्नेछ ।

समितिबाट पुनर्बीमा दलालको इजाजत दिने आशय पत्र प्राप्त भएपछि ब्रोकिङ कार्य गर्नुअघि नेपालको क वर्गको वाणिज्य बैंकमा सेक्युरिटी डिपोजिट वापत अमेरिकी डलर ५० हजार रुपियाँ जम्मा गर्नुपर्ने छ ।

नेपाली पुनर्बीमा दलालसँग संयुक्त रुपमा नेपालमा पुनर्बीमा दलाल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले पूँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्नसक्ने व्यवस्था रहेको छ ।

पुनर्बीमा दलालको कार्यालयमा एक जना मुख्य व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकृतको अलावा आवश्यकता अनुसार एक जना सूचना प्रविधि विज्ञ विदेशी नागरिक राख्न सकिने र अन्य कर्मचारीहरुको हकमा नेपाली नागरिक नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेपालमा बीमासम्बन्धी काम गर्ने दलालको अभाव भएपछि सरकारले विगतदेखि विदेशी ब्रोकरलाई पुनर्बीमा गर्ने कानुनी मान्यता दिँदै आएको थियो ।

नेपालमा अहिले २० निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन् । नेपाली बीमा कम्पनीहरुले विदेशी देशका पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराउँदै आएका छन् । जसकारण नेपाली बीमा बजारबाट वर्षेनि अर्बौ रुपियाँ बाहिरिँदै आएको छ ।


SHARE THIS