दश महिनामा भित्रियो आठ खर्बभन्दा बढी रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी

गीता पौडेल

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा आठ खर्ब नौ अर्ब ८९ करोड रुपियाँ रेमिट्यान्समार्फत भित्रिएको छ । चालु आर्थिक वर्षको १० महिनामा १९.२ प्रतिशतले बृद्धि भएर रेमिट्यान्स आप्रवाह ८०९ अर्ब ८९ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले बृद्धि भई छ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ७७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।

कतारका लागि मात्रै ४७ हजार ५७ जना श्रम स्वीकृति लिए

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालू आवको पहिलो १० महिनामा एक लाख ६६ हजार विदेशिएकामा कतारमा मात्रै ४७ हजार ५७ जना श्रम स्वीकृति लिएर गएका छन् । जसमा १८ हजार ३७३ जना नयाँले श्रम स्वीकृति लिएर तथा २८ हजार ६८४ जनाले पुनः श्रम स्वीकृति लिएर गएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । जस अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनाको अवधिमा नेपालीको पहिलो गन्तव्य कतार बनेको छ ।

यस्तै सो अवधिमा साउदी अरबमा ४४ हजार ८१३ जनाले श्रम स्वीकृति लिएर गएका छन् भने कुनै बेला पहिलो श्रम गन्तव्य मुलुक मलेसियामा यस अवधिमा पाँच हजार १४३ जना मात्रै पुनः श्रम स्वीकृति लिएर गएका छन् । त्यसैगरी बहराइनमा चार हजार ५१०, ओमान तीन हजार ५० र कुवेतमा दुई हजार ४४१ जना गएका छन् ।

पुनः श्रम स्वीकृति ६० प्रतिशतले घट्यो

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको १० महिनामा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अझै गिरावट आएको छ । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत वर्षको १० महिनाको तुलनाको अवधिमा चालू आवको सोही अवधिमा ६०.३ प्रतिशतले गिरावट आएको हो । गत आर्थिक वर्ष २०७६÷७७ को १० महिनामा श्रम स्वीकृति लिएर एक लाख ९३ हजार ८८० नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । पछिल्लो वर्ष कोरोना भाइरस महामारीका कारण श्रम गन्तव्य मुलुक मलेसिया, कुवेतलगायत देशले नेपालबाट श्रमिक लिएका छैनन् ।

कतार, साउदी, ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) (सरकारी र गैरसरकारी क्षेत्रमा मात्र)लगायत देशले नेपालबाट श्रमिक लगे पनि अन्तर्राष्ट्रिय उडान बन्द, बन्दाबन्दी र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगार प्रभावित बन्दै आएको छ । सो अध्ययन प्रतिवेदनअनुसार पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या चालू आवमा ४९ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर जाने युवाको सङ्ख्या एक लाख ७५ हजार ५५१ जना थियो भने चालू आवमा घटेर ८९ हजार ५५४ जनाले मात्रै पुनः श्रम स्वीकृति लिएका छन् ।


SHARE THIS