कोरोना बढेपछि राष्ट्र बैंकको निर्देशन, सोमबारदेखि २५ प्रतिशत कर्मचारीबाट बैंकिङ दिनुपर्ने

काठमाडौं । कोरोना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत कर्मचारी मार्फत सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्धारा बैंकिङ सेवा प्रदान गर्नुपर्ने भएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारी मार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

सरकारले कोभिड–१९ संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि विहीबारदेखि काठमाडौं उपत्याकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ ।

निषेधाज्ञाको समयमा पनि बैंकिङ सेवालाई अत्यावश्यकीय भएकाले सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने भएकाले कर्मचारीको उपस्थिती थोरै भन्दा थोरैमा सेवा प्रदान गर्न राष्ट्र बैंकले मातहतका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको हो ।

अनावश्यक कर्मचारीको उपस्थिती रोक्नका लागि डिजीटल प्रविधिमार्फत कारोबार बढाउन र भौत्तिक सेवालाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन छ । कर्मचारीहरुलाई पनि सक्दो वर्क फ्रम होम तथा रिमोर्ट एक्सेसबाट काम गर्न जोड दिन समेत निर्देशनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थालाई नजिकै रहेका शाखाहरुको हकमा थोरै भन्दा थोरै शाखा सञ्चालनमा ल्याई वैकल्पिक शाखाबाट आलोपालो सेवा प्रदान गर्न समेत राष्ट्र बैंकको निर्देशन छ । बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेवसाइट तथा सामाजिक सञ्जालमा सेवा सम्बन्धि सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, खुल्ने बैकल्पिक शाखा तथा समयावधि सम्बन्धि सूचना दैनिक रुपमा प्रकाशन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

बढ्दो कोरोना संक्रमण जोखिमलाई ध्यान दिदै सेवाग्राहीलाई सम्भव भएसम्म ‘फेस टु फेस’ बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न राष्ट्र बैंकको आग्रह छ ।

राष्ट्र बैंकले विभिन्न निकायबाट जारी भएका÷हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि सम्भव भएसम्म सट्टा डिजिटल बैंकिङ सेवा बढी भन्दा बढी प्रयोगमा जोड दिन थालेका छन् ।

वाणिज्य बैंकहरुका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनर्ले घरबाटै कारोबार गरौंैै । आफू र अरुलाई सुरक्षित राखौं ।’ भन्ने नाराका साथ ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवाको उच्च सदुपयोग गर्न आग्रह गरेको छ ।

सरकारले कोभिड – १९ को दोस्रो लहरको प्रकोप नियन्त्रणका लगि उपत्याका लगायत देशका अन्य ठाउँहरुमा समेत निषेधाज्ञा जारी गरेको परिप्रेक्षमा कोभिड–१९ को प्रभाबवाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि एसोसिएसनले डिजीटल बैंकिङ कारोबारबाटै हुने कामका लागि बैंकमा नआउन आग्रह गरेको छ ।

सम्भव भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्नु आग्रह गर्दै एसोसिएसनले अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन पनि ग्राहकहरुलाई एसोसिएसनको आग्रह छ ।

निषेधाज्ञामा पनि बैंकका शाखा तथा एटीएम बुथहरु खुला नै रहने भएकोले इन्टरनेट÷मोबाइल बैंकिङ सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गरेर समाधान गर्न सकिने एसोसिएसनको आग्रह छ ।

यता बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले पनि कम्पनीहरुको कार्यप्रणाली सम्भव भएसम्म अनलाइनमार्फत गर्न आग्रह गरेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई निषेधाज्ञा अवधि भर अनलाइन मार्फत बीमालेख जारी गर्न समितिले निर्देशन दिएको छ ।

समितिले सर्कुलर नै जारी गर्दै इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई बीमालेख अनलाईनबाट जारी गर्दा अनिवार्य रुपमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बीमकको अन्डराइटिङ्ग म्यनलुममा अधिनमा रहनुपर्नेमा पनि ध्यानाकर्षण गराएको छ ।


SHARE THIS