अहिलेसम्मकै उच्च विन्दुमा सेयर, कारोबार रकममा पनि नयाँ रेकर्ड



काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटलाई स्वागत गर्दै सेयर बजारले परिसूचक र कारोबारमा नयाँ रेकर्ड ब्रेक गरेको छ । पहिलो कारोबारी दिन आइतबार नेप्से परिसूचक १२.५४ अंक बढेर २८२७.९३ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बन्द विन्दु हो । यस अघि गत साताको सोमबार नेप्से २८२३.४० विन्दुमा बन्द भएको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.३५ अंक बढेर ५०७.०५ विन्दुमा बन्द भएको छ । त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक बढेको छ ।

नेप्सेलाई साथ दिंदै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार २१९ कम्पनीको एक लाख ७३ हजार ५३७ पटकको कारोबारमा १७ अर्ब दुई करोड ८४ लाख ३२ हजार २४५ रुपियाँ बराबरको चार करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस अघि गत साताको अन्तिम कारोबार दिन १४ अर्ब ७६ करोड रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री भइ कारोबार रकममा रेकर्ड बनाएको थियो ।

नेप्सेले नयाँ उचाइ चुमेसँगै १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक शाइन डेभलपमेन्ट बैंक, सोल्टी होटल, आरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रो लगायतका कम्पनीहरु परेका छन् ।

बरुण हाइड्रोको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत घटेको यस दिन हिमालयन उर्जाको शेयरमूल्य ६.२६ प्रतिशत घटेको छ ।

आइतबार १३ उपसमूहमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ७.३९ प्रतिशत बढेको छ । त्यसैगरी, फाइनान्स उपसमूहको परिसूचक ५.०८ प्रतिशत, होटल तथा पर्यटनको ४ प्रतिशत, म्युचुअल फण्डको ३.८७ प्रतिशत र बैंकिङ्गको १.०७ प्रतिशत बढेको छ ।

यता, अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत घटेको छ ।


SHARE THIS