छ महिनामा पाँच खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ह्वातै घट्यो

काठमाण्डौं । चालु आर्थिक वर्षको छ महिना अर्थात पुस महिनामा मुलुकमा चार खर्ब ९५ अर्ब ३१ करोड रुपियाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११.१ प्रतिशतले बढी हो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।

गत वर्षको तुलनामा भन्दा चालु आवको पुस मसान्तमा रेमिटयान्स आप्रवाहको दर दोहोरो अंकले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस महिनामा मात्रै ७८ करोड ५० लाख रुपियाँ रेमिट्यान्स भित्रिएको छ । मङ्सिर मसान्तसम्ममा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बृद्धि भई चार खर्ब १६ अर्ब ८१ करोड रुपियाँ भित्रिएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई ५ खर्ब ५९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।


SHARE THIS