आयात ४.८ प्रतिशतले घट्यो, निर्यात ६.१ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा मुलुकमा आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को छ महिनाको तथ्याङ्कमा आधारीत देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार वार्षिक विन्दुगत आधारमा २०७७ पुस महिनामा भन्सार तथ्याङ्मा आधारीत निर्यातको एकाइ मूल्य सूचकाङ्क  २.२ प्रतिशतले बढेको छ । सो अवधीमा आयात मूल्य सूचकाङ्क १.४ प्रतिशतले घटेको छ । २०७६ पुस महिनामा ०.६ प्रतिशतले घटेको व्यापारको शर्त २०७७ पुस महिनामा ३.६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ को छ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले बृद्धि भई रु.६० अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले बृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ८.४ प्रतिशत र ४ प्रतिशतले निर्यात बृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ५० प्रतिशतले कमी आएको छ ।

सोही अवधीमा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले बृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ ।

उपभोक्ता मुद्रास्फीति ३.५६ प्रतिशत

२०७७ पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ ।

२०७६ पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमुहको मूल्यबृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ पुसमा यी क्षेत्रहरुमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।


SHARE THIS