साताको सेयर बजार : गत साताभन्दा झण्डै तीन अर्बले कारोबार घट्यो, नेप्से ५० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा गत साताभन्दा यस साता झण्डै तीन अर्बले घटेको कारोबारमा नेप्से परिसूचक ५० अंकले बढेको छ ।

गत साता उत्साह कायम गरेको कारोबार रकम यो साता भने घटेको हो । गत साता रू. ४४ अर्ब ४६ करोड ३९ लाख ८१ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ४१ अर्ब ६८ करोड ६४ लाख तीन हजार बराबरको शेयर कारोबार भएको हो ।

कारोबार रकम गत साताभन्दा यो साता रू. खुई अर्ब ७७ करोड ७५ लाख ७८ हजार कम भएको छ । गत साता दुई कारोबार दिन कारोबार रकमले ऐतिहासिक रेकर्ड ब्रेक गरेको थियो । यो साता भने चौथो कारोबार दिन रू. ९ अर्ब ५३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने दोस्रो दिन रू. छ अर्ब ९७ करोडभन्दा बढीको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबार दिन २४२५.३० विन्दुमा बन्द भएको नेप्से, यस साताको अन्तिम कारोबार दिन २४७५.२६ विन्दुमा बन्द भएको छ ।

यस साता नेप्से परिसूचक ४९.९६ अंक अर्थात २.०६ प्रतिशत बढेको हो । त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ११.९६ अंक अर्थात २.७१ प्रतिशत बढेर ४५४.०२ विन्दुमा पुगेको छ । यस साता फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१४ अंक बढेको छ ।

आमहडताल घोषणा भएको दिन निराश बनेका लगानीकर्ता सम्हालिएपछि साताको अन्तिम दिनको सेयर बजार उकालो लागेको थियो ।

निरन्तर सुधारको बाटोमा रहेको शेयर बजारमा आमहडतालको असर पर्नसक्ने विश्लेषण गरिएपनि त्यसको विपरीत बिहीबारको शेयर बजारमा हरियाली छाएको हो ।

आमहड्तालको खबरले बुधबार अन्तिम प्रहरमा लगानीकर्ता आत्तिँदा सेयर बजार घटेको थियो । साताको अन्तिम दिन अर्थात आमहड्तालकै दिन शुरुवातमा घटेको बजार बढेर बन्द भएको हो । अन्तिम दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेपनि औषतमा राम्रो देखिएको थियो ।

बिहीबार सेयर बजारमापक नेप्से ८.३४ अंकले उकालो लागेर २४७५.२६ अंकको विन्दुमा पुगेर अडिएको थियो भने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले उकालो लागेर ४५४.०२ अंकको विन्दुमा पुगेर अडिएको थियो । समग्रमा बिहीबारको नेप्से ०.३४ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स भने ०.३७ प्रतिशतले उकालो लागेको थियो ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.८० प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन १९३५.७३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९२.८६ अंक बढेर २०२८.५९ विन्दुमा बन्द भएको छ ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। सो उपसमूहको परिसूचक यस साता ४६२.४० अंक बढेर १३ हजार २४.५६ विन्दुमा पुगेको छ ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत अर्थात ३९.८५ अंक घटेर १११२.२० विन्दुमा झरेको छ ।

यस साता नेप्सेमा ६ कम्पनीको कुल ४ करोड १५ लाख ८६ हजार १९५.८३ कित्ता शेयर खरिदबिक्री भएको छ । यस साता समृद्धि फाइनान्स र नेपाल फाइनान्सको हकप्रद शेयर, सानिमा बैंक, चिलिमे हाइड्रोपावर र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको बोनस शेयर र चन्द्रागिरी हिल्सको आईपीओ सूचीकृत भएको हो ।

यस साता नेप्सेमा सूचीकृत छ कम्पनीको बजार पूँजीकरण एक खर्ब नाघेको छ । जसमध्ये नेपाल दूरसञ्चारको सर्वाधिक दुई खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । गत साता पूँजीकरणका आधारमा नबिल बैंक यस साता चौथो स्थानमा झरेको छ भने चौथो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनी तेस्रो स्थानमा उक्लिएको छ ।

यस साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा कामना सेवा विकास बैंक, एनएमबी हाइब्रिड फण्ड एल १, सानिमा माइ हाइड्रोपावर लगायतका कम्पनी परेका छन्। त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकमा जनउत्थान सामुदायिक लघुवित्त, स्वाबलम्बन लघुवित्त, गुराँस लघुवित्त लगायतका कम्पनीहरु परेका छन् ।


SHARE THIS