समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

एलाइन्स फर फाइनान्सियल इन्क्लुजन(एएफआई) को आयोजनामा ‘ एएफआई लिडर्स पब्लिक प्राइभेट डायलग (पीपीडी) अन कोभिड १९ः लेसन एण्ड अपरच्युनिटी फर रिकोभरी एण्ड एडभान्सिङ इन्क्लुसिभ फाइनान्स एण्ड ग्रोथ इन २०२१ एण्ड वियोण्ड’ विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै एएफआई  सञ्चालक समितिको सदस्य समेत रहनुभएका गभर्नर अधिकारीले भन्नुभयो – ‘कसैको एक्लो प्रयासबाट मात्रै यो महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न सम्भव छैन । अतः समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक छ । सामुहिक समर्पणको भावनाबाट मात्रै त्यो सम्भव देखिन्छ ।’

कोभिड–१९ ले सिर्जित संकटको नकारात्मक प्रभाव केही समयसम्म देखिन सक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसबाट अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

बितेको एक वर्षमा एएफआईको सामुहिक नीति र नियामकीय अभ्यासले कतिपय जोखिमको न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाएको उहाँको धारणा थियो । उहाँले भन्नुभयो – ‘यो अवधिमा हामीले समाजको सर्वाधिक जोखिममा रहेका वर्गकोसंरक्षणका निम्ति केही प्रयास गरेका छौं । यसलाई अझ प्रभावकारिताका साथ निरन्तरता दिन आवश्यक छ ।’

बैठकमा कोभिड महामारी र नेपालको सन्दर्भबारे चर्चा गर्दै गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम÷व्यवसाय बढी प्रभावित बनेको धारणा राख्नुभयो । यसलाई सम्बोधन गर्न नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको जानकारी गभर्नर अधिकारीले दिनुभयो ।

कोभिडबाट प्रभावित व्यवसायलाई राहतस्वरूप बैंक तथा वित्तीय संस्थामार्पmत पुनरकर्जा सुविधा उपलब्ध गराइएको र सो अवधिमा विद्युतीय माध्यममार्पmत हुने भुक्तानी कारोबारलाई प्रबद्र्धन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले समाजका महिला, विपन्न, अदक्ष श्रमिक, लघु तथा साना उद्यमी र त्यहाँ काम गर्ने श्रमिकको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुग्नेगरी नीतिगत व्यवस्था अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

एएफआईका सदस्य मुलुकमा अवलम्बन भएका नीतिगत र कार्यगत अभ्यासको अनुभव आदानप्रदानमा उक्त बैठक फलदायी हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

एएफआईका कार्यकारी निर्देशक डा. अलफ्रेड हानिङले ‘फाइनान्सियल इन्क्लुजन पोलिसी लेसन इमर्जिङ फ्रम दि पेन्डामिक’ विषयमा आफ्नो मन्तव्य राख्नुभयो ।

सहभागीहरूबीच विभिन्न विषयमा छलफल र कार्यक्रमको अन्त्यमा बैठकको समीक्षा भएको थियो ।

छलफल सत्रमा बैठकमा सहभागी अन्य केन्द्रीय बैंकका अधिकारीहरुले पनि आ–आफ्नो मुलुकमा अवलम्बन गरिएका नीतिगत व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । बैठकमा एएफआईका सदस्य रहेका केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूसहित ३३ जनाको सहभागिता थियो ।


SHARE THIS