वित्तीय कर्जाको सहजीकरण गर्न समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच वित्तीय कर्जाको सहजीकरण गर्न सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।

दुई संस्थाबीच लघु, घरेलु, साना तथा मझौला उद्यम (एसमएमई) को प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले समझदारी भएको जनाइएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले हस्ताक्षर गर्नुभएको हो ।

समझदारीपत्रमा वाणिज्य बैंक र एसमएमईजबीच कर्जा लगायत वित्तीय सेवा प्रवाहलाई सहज, विश्वासनीय र जोखिमरहित बनाउने उल्लेख छ । त्यस्तै, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र कार्यदलले आवश्यक नीतिगत सुझाव तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गर्ने तथा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने  पनि सझदारीपत्रमा उल्लेख छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको समझदारी कोसेढुंगा हुने बताउनुभयो ।

बैकर्स संघका अध्यक्ष दाहालले दुई संस्थबीचको सहकार्यलाई  केन्द्रदेखि प्रदेशसम्मै लैजाने बताउनुभयो । उहाँँँले मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैङ्किङ पहुँच विस्तार भइसकेको भन्दै सहकार्यपछि तल्लोतहसम्म सहयोग खोजिरहेका एसएमईजलाई थप सहयोग पुग्ने स्पष्ट पार्नुभयो ।

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभाव रहेको पाइएकोले समझदारीले त्यस्ता समस्या सम्वोधन हुने विश्वास प्रकट गर्नुभयो ।


SHARE THIS