नयाँ रेकर्ड बनाउँदै बन्द भयो यो साताको सेयर बजार, बैंकिङमा लगानीकर्ताको उच्च आकर्षण

काठमाडौं । सेयर बजारले सुधारिएर फेरी नयाँ रेकर्ड बनाउन थालेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बैंकिङ समूहमा लगानीकर्ता झुम्मिँदा बजारमापक नेप्से अन्तिम दिन पनि उच्च विन्दुमा पुगेको छ ।

पछिल्ला केही दिन यता नयाँ रेकर्ड बनाउँदै आएको नेप्से परिसूचकले बिहीबार पनि २५ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

अन्तिम दिन नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ अंकले ४१८.७८ विन्दुमा पुगेको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.९७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.४३ प्रतिशत बढेको छ ।

बिहीबार कारोबार रकम पनि झण्डै नौ अर्ब नजिक पुगेको छ । बिहीबार २०६ वटा कम्पनीको एक करोड ९६ लाख ४६ हजार ५७८ कित्ता शेयर आठ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि २.४५ प्रतिशत र बैंकिङ उपसमूहको सूचक १.२२ प्रतिशतले बढेको छ ।

बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये नेपाल हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बेंकको ९.९४ प्रतिशत, बेस्ट फाइनान्सको ९.८८ प्रतिशत, सिभिल बैंकको ९.८७ प्रतिशत र नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य ९.८६ प्रतिशतले बढेको छ ।

यता मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले घटेको छ भने हिमालयन उर्जा विकास कम्पनीको ३.७० प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.६७ प्रतिशत, समुदायिक लघुवित्तको २.९८ प्रतिशत र अजोड इन्स्योरेन्सको २.९० प्रतिशतले घटेको छ ।

बिहीबार उच्च कारोबार हुनेमा अधिकाँश वाणिज्य बैंक रहेका छन् । उच्च कारोबार हुने शीर्ष १० कम्पनीमा सात वटा वाणिज्य बैंक रहेका छन् । एनआइसी एशिया बैंकको सबैभन्दा धरै ५६ करोड एक लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको ५० करोड ८२ लाख, सिभिल बैंकको २८ करोड ३८ लाख र ग्लोबल आइएमई बैंकको २६ करोड ९६ लाख रुपियाँको शेयर कारोबार भएको छ ।


SHARE THIS