मौद्रिक नीतिमा घोषणा गरेको छ महिनापछि किसानले पाए ‘किसान क्रेडिट कार्ड’

काठमाडौं । किसानलाई उत्पादन, पुँजी र बीउ तथा उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृंखला निर्माण गर्न सरकारले ल्याएको किसान क्रेडिट कार्ड कार्यक्रमले बुधबार पूर्णता पाएको छ ।

व्यवसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जिविकोपार्जनको मुख्य आधार बनाएकाहरुको लागि सरकारले घोषणा गरेको छ महिनापछि ‘किसान क्रेडिट कार्ड’ किसानको हातमा पुगेको हो ।

कृषि विकास बैंक स्थापनाको ५४ औं वार्षिकोत्सव समारोहमा २० जना किसानहरुले ‘किसान क्रेडिट कार्ड’ प्राप्त गरेका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकले तयार गरेको ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’ सार्वजनिक गर्दै कृषि क्षेत्रमा नयाँ प्रविधि प्रयोगले आम किसानहरुलाई प्रविधिमैत्री बन्नका लागि मद्दत पुग्ने अपेक्षा रहेको बताउनुुभयो ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि  सहजै मल, बीउ, कृषि औजार लगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’ को व्यवस्था गरिएको थियो ।

कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकलाई सुम्पेको थियो ।

किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैंकसम्म पुग्नुपर्दैन भने हरेक गाउँमा पैसा होल्ड गर्ने तथा पैसा खेलाउने मान्छेलाई बैंकले भुक्तानी प्रदायक तोक्ने भएका कारण बैंकभन्दा टाढा हुँदा पनि कृषकले आफ्नो कृषि कर्म अगाडि बढाउन सक्छन् ।

किसान क्रेडिट कार्डले किसानलाई उत्पादन, पुँजी र बीउ तथा उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृंखला निर्माण हुने बैंकले जनाएको छ । बैंकले निर्माण गरेको सफ्टवेरमा किसानले लिएको ऋण, सरकारबाट पाएको अनुदान, आफ्नो कृषि उत्पादनको अवस्था, कृषि औजार उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेतको सूचना ड्यासबोर्ड मार्फत प्राप्त गर्न सक्ने तथा आफूले राख्न सकिने बैंकले जनाएको छ ।

कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सुविधासहितको सफ्टवेयर नै किसान क्रेडिट कार्डको विशेषता हो ।

अर्थमन्त्री पौडेलले कृषि क्षेत्रमा लगानी गर्न सबै बैंक तथा वित्तीय संस्थाको प्रतिनिधित्व कृषि विकास बैंकलाई गर्न आग्रह गर्दै आम किसानहरुले कृषि उद्यमको रुपमा स्थापित गर्न कृषि विकास बैंकबाट विषेश लाभ लिन सक्ने गरी बैंकको प्रविधि सशक्त बनाउनुपर्नेमा जोड दिनुुभयो ।

ग्रामीण क्षेत्रको बचत परिचालन, कर्जा प्रवाह र वित्तीय पहुँच अभिबृद्घि गर्दै कृषि तथा ग्रामीण विकासका लागि वित्तीय सेवा सहज बनाउने महत्वपूण उद्देश्यका साथ अघि बढिरहेको बैंकको कृषि तथा ग्रामीण क्षेत्रको लगानी विस्तारमा संस्थागत विशेष अनुुभव र क्षमता रहेको उहाँले बताउनुुभयो ।

आगामी दिनमा बैंकले संस्थागत सुदृढिकरण, डिजीटल माध्यमबाट आधुनिक प्रविधियुक्त ढंगले ग्राहक सेवाको विस्तार र व्यवसायीक दक्षता अभिबृद्घि गर्दै देशको समृद्घि हासिल ग्रामीण क्षेत्रमा उत्पादनमुखी कर्जा विस्तारसहितको वित्तीय पहुँच अभिबृद्घिमा महत्वपूर्ण योगदान दिन सक्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।  

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंकको हिजो र आज तुलना नगर्न मिल्ने गरी ग्रोथ भएको भन्दै एनपीएको सुधारको सवालमा, पारदर्शीता लगायतका विषयहरुमा धेरै फरक बैंकको रुपमा आइसकेको बताउनुुभयो ।

निक्षेप संकलनको सन्दर्भमा कृषि विकास बैंक ११ औं नम्बरमा रहेको भन्दै उहाँले कर्जा लगानीको रुपमा आठौं बैंकको रुपमा, विदेशी मुद्रा कारोबारमा सबैभन्दा तल र समग्रमा २७ वटै बैंकहरुको तुलनामा कृषि विकास बैंक २६ औं नम्बरमा रहेको बताउनुुभयो ।

कृषि विकास बैंकसँग नेपाल सरकार र नेपाल राष्ट्र बैंकले धेरै अपेक्षा रहेको भन्दै गर्भनर अधिकारीले भन्नुुभयो – ‘हामीले मौद्रिक नीति मार्फत पनि केही जिम्मेवारी र व्यवस्थाहरु गरिसकेका छौं । कृषि विकास बैंकलाई केही विषयहरुमा अग्रणी भूमिका खेल्नको लागि नीतिगत व्यवस्थाहरु पनि गरिसकेका छौं ।’

किसान क्रेडिट कार्डलाई प्रभावकारी प्रयोग गर्न आग्रह गर्दै उहाँले भन्नुुभयो – ‘यसको सेवा सुविधा सबै किसानले पाउनेछन् भन्ने आशा अपेक्षा र विश्वासका साथ साथै यो क्रडिट कार्ड र किसान एपमार्फत बैंकिङ सूचना र अपडेटहरु निरन्तर र छिटो छरितो बैंकले गर्ने छ भन्ने पनि हामीले आशा राखेका छौं ।’

नेपाल सरकारले लिएको कृषि क्षेत्रको नीतिमा कृषि विकास बैंकको धेरै ठूलो भूमिका रहेको भन्दै उहाँले  अहिले समग्र वाणिज्य बैंकहरुबाट भएको लगानीको २० प्रतिशत कृषि विकास बैंकबाट भएको बताउनुभयो ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले कृषि क्षेत्रमा लगानी गर्ने कृषि विकास बैंकले पाएको नेतृत्वदायी भुमिकामा सहकार्य गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरु तयार रहेको बताउनुुभयो ।

संघले कृषि विकास बैंककै संयोजकत्वमा अध्ययन कमिटी गठन गर्ने जानकारी दिंदै उहाँले कृषि क्षेत्रमा लगानी गर्दा किसानलाई ब्याजदर तथा अन्य प्रकारका दरमा सहुलियत दिन र कृषि प्रविधिको प्रोत्साहन तथा प्रयोग बढाउन थप काम गर्न सहयोग गर्ने बताउनुुभयो ।

बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैंकले शुरुवातका दिनमा कृषि उद्योग र सहकारी संस्थामा लगानी गरेपनि हाल आएर ग्राहकका आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैंकिङ सेवा प्रदान गर्ने गरेको बताउनुुभयो । देशैभर छरिएर रहेका २८५ भन्दा बढी शाखाहरुबाट आमजनतालाई बैंकिङ सेवा प्रदान गरेको भन्दै उहाँले छरिएर रहेको पूँजी संकलन गरी लाखौं कृषक, उद्यमीहरुलाई लगानी गरी उनीहरु र देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिंदै आएको बताउनुुभयो ।

वि.सं. २०२४ साल देखि २०७७ सालमा स्थापना भएको बैंकले करिब २७७ अर्ब रुपियाँ कर्जा, निक्षेप र ४६ अर्ब जमानत कारोबार गरिरहेको बैंकमा करिब १५ लाख भन्दा माथि रहेका ग्राहक र करिब तीन लाख शेयरधनी तथा २७८ वटा कार्यालय सञ्जाल रहेको छ ।

वित्तीय सेवा प्रदान गरिरहँदा बैंकले विकास बैंक हुँदै गरिबी निवारणको कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरी आज आधुनिक प्रविधिमैत्री बैंक बन्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताउनुुभयो ।

ग्रामीण अर्थतन्त्र एवं कृषिलाई पुनः नेतृत्व गर्न अगुवा बैंकको भूमिका निर्वाह गरी किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न ‘कृषि बण्ड’ र ‘किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप’ शुभारम्भ गर्न पाउँदा बैंक फेरी आम जनता एवं कृषक उद्यमीहरुको भरोसाको केन्द्रको रुपमा बैंकलाई बनाउन पाएको बताउनुुभयो ।

पहिलो चरणमा छ अर्बको कृषि बण्ड

बैंकले पहिलो चरणमा बुधबार छ अर्बको कृषि बण्ड र यस वर्ष कुल २४ अर्बको बण्ड निष्कासन गर्न बुधबारै २६ वटा ‘क’ वर्गको बैंक र एक पूर्वाधार विकास बैंकसमक्ष दरखास्त आह्वान गर्न सफल भएको उहाँले बताउनुुभयो ।

यस कार्यले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिको साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणाली समेत बलियो र भरपर्दो हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

वित्तीय बजारको करिब ४५ भन्दा माथि हिस्सा ओगटेको बैंकले सम्पूर्ण प्रविधिमैत्री सेवा प्रदान गर्दै गएको भन्दै सीइओ उपाध्यायले कोभिड–१९ को लकडाउनमा करिब तीन लाख मोबाइल बैंकिङ सेवा प्रदान गर्दै डिजिटल प्रविधि बैंकको नयाँ खुड्किलोमा सहकार्य गर्न सफल भएको बताउनुुभयो ।

संघीय र प्रदेश सरकारसँगको कार्यक्रमलाई पनि बैंकको मूल कार्यक्रममा समाहित गर्दै अत्याधुनिक प्रविधिको कोर बैंकिङ प्रणाली मार्फत २७८ वटा कार्यालयहरुबाट कूल कर्जाको ८५ प्रतिशत भन्दा बढी हिस्सा १५ लाख भन्दा कम रकमका साना तथा मझौला कर्जामा लगानी गरेको एक मात्र वाणिज्य बैंक भएको उहाँले बताउनुभयो ।

बैंकले आफ्ना खर्चहरुलाई क्रमशः न्युनीकरण गर्दै आधारदर ७.६६ प्रतिशत र सञ्चालन खर्च करिब दुुई प्रतिशतको हाराहारीमा पु¥याउन सफल भएको उहाँले बताउनुुभयो ।


SHARE THIS