सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार कोटा प्रणाली खारेजीका लागि सुनचाँदी व्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोग गर्न महासंघसँग आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरुपमा व्यवसाय सञ्चालनका लागि व्यवसाय सञ्चालन ल्याउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिक केन्द्र सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्ने लगायतका विषयलाई कार्यान्व्यनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । व्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी व्यवसायीको आग्रह अनुसार त्यसलाई खारेज गर्न महासंघले पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो । आयातित सुन पुनः विदेश नजाओस भन्नका लागि समा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्नै सकिने व्यवसायीको सुझाव छ ।

पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकहरु मार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही समय अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सीमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ ।


SHARE THIS